मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग चुनावी तालमेलले नेकपा एमालेभित्रै असन्तुष्टि देखिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले तालमेलले चुनावी परिणाममा गम्भीर असर पुर्याउने चेतावनी दिएको छ।
विराटनगर महानगरको चुनावमा एमालेले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग तालमेल गरेपछि महानगरमै विरोध सुरू भएको हो।
एक्लै जित्ने आधार प्रशस्त हुँदाहुँदै फोरमलाई महानगरको उपप्रमुख पद समर्पण गर्न लागिएको भन्दै एमालेका जिल्लास्तरीय नेताहरूले चुनावमा यसले परिणाम ‘अर्कै ल्याउने’ चेतावनी दिएका छन्। गच्छदारको पार्टीसँगको तालमेलले एमालेमा आबद्ध भएर लामो समयदेखि कार्यरत महिलाहरू पनि सन्तुष्ट छैनन्।
‘यो तालमेलले अनेमसंघमा आबद्ध आममहिलाहरूमाथि अन्याय गरेको छ,’ पूर्व सभासद् यशोदा अधिकारीले सेतोपाटीसँग भनिन्, 'यस्तोखालको अप्राकृतिक गठबन्धन हामीलाई स्वीकार छैन।’
एमाले जिल्ला कमिटीका पूर्वअध्यक्ष महेश रेग्मीले महानगरमा यस्तो गठबन्धन स्वीकार नगरिने बताए। ‘हामीले एक्लै चुनाव जित्नसक्ने आधार छन्, कुनै पनि ठाउँमा फोरमसँग हाम्रो तालमेल भएको छैन, विराटनगरमै गर्नुपर्ने जरुरी के भयो?’ रेग्मीले भने, ‘यस्तो गठबन्धनले ल्याउने परिणामप्रति पार्टी सचेत बन्नुपर्छ।’
एमालेले फोरम लोकतान्त्रिकसँग चुनावी तालमेल गर्ने निर्णय गरेअनुसार विराटनगर महानगरको उपप्रमुख पद लोकतान्त्रिकलाई दिने सहमति भएको हो।
महानगरभित्रका ६ र ७ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिकको पकड छ। दोस्रो संविधानसभा निर्वाचनमा ६ नम्बर क्षेत्रमा लोकतान्त्रिकका भक्ति माझी कांग्रेस नेता महेश आचार्यसँग लडेका थिए। उनले दोस्रो मत ल्याए। यसैगरी, ७ नम्बर क्षेत्रमा लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार उठेका थिए। उनी कांग्रेस नेता शेखर कोइरालासँग साढे ३ हजार मतले पराजित भएका थिए। दोस्रो संविधानसभा निर्वाचनका हिसाबले ६ र ७ नम्बर क्षेत्रमा एमाले तेस्रो स्थानमा थियो।
स्ववियु चुनावका बखत २०३८ सालमा आफ्ना नेताको हत्या भएको भन्दै एमालेको एक समूहले यस्तो गठबन्धनलाई स्वीकार नगरिने बताएको छ। ‘२०३८ साल मंसिर ९ गते हाम्रा नेता फणिन्द्र तिम्सिनाको हत्या गच्छदारको हातबाट भएको हामीले बिर्सेका छैनौं, यस्तो तालमेल हामीलाई स्वीकार हुन्न पनि,’ एमाले जिल्ला कमिटीका पूर्वअध्यक्ष रेग्मीले भने, ‘यो गठबन्धनको औचित्य पुष्टि गर्ने आधार केही पनि छैन।’
काठमाडौं र ललितपुर जिल्लामा राप्रपासँग गरिएको गठबन्धनले पनि परिणाम आफ्नो पक्षमा नआएकोतर्फ उनले संकेत गरे। ‘काठमाडौं र ललितपुरमा तालमेल हुँदा चुनाव हारियो, अब विराटनगरमा पनि त्यही दोहोर्याउन खोजिएको हो भने त्यसको जिम्मेवारी केन्द्रीय कमिटीले लिनुपर्छ,’ रेग्मीले भने।