राष्ट्रिय जनता पार्टीको विरोधका बाबजुद् नवलपरासीको परासी क्षेत्रमा रहेका सात स्थानीय तहमा उम्मेदवारी दर्ता प्रकृया बिहान आठ बजेदेखि जारी छ।
उम्मेदवारी मनोनयन दर्तालाई अवरोध गराउन राजपाले आज परासीमा आमहड्ताल आह्वान गरेको थियो। बन्दका बावजुद् बिहानदेखि सबै स्थानीय तहमा दलका उम्मेदवार पुगेर सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए।
अहिलेसम्म कांग्रेस, एमाले, राप्रपालगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेका छन्। स्वतन्त्रबाट पनि धेरै जनाको उम्मेदवारी परेको छ। निर्वाचन बिथोल्न सक्ने भन्दै प्रहरीले राजपाका जिल्ला संयोजक पुरन चौधरी, केन्द्रीय सदस्यलगायत २० कार्यकर्तालाई पक्राउ गरेको छ।
तीमध्ये १६ जना नेतालाई हिजो राति पक्राउ गरिएको थियो भने आज ४ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकालाई सुनवल र बर्दघाटका प्रहरी कार्यालयमा राखिएको छ।
नेताहरु पक्राउ परेपछि आइतवार आह्वान गरिएको बन्दमा कुनै प्रभाव परेको छैन। पसल बन्द रहे पनि सवारी साधन चलेका छन्।
राजपाका कार्यकर्ता सडक र निर्वाचन अधिकृतको कार्यालय अगाडी अवरोधका लागि देखिएका छैनन्। जसले गर्दा उम्मेदवारले सहज रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका छन्।
स्थानीय निर्वाचनको विरोधमा शनिवार दिउँसो परासीमा राजपाले आयोजना गरेको विरोध सभामा प्रहरीसँग झडप भएको थियो। राजपाका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर शीर्ष नेताहरू राजेन्द्र महतो, राजकिशोर यादव अनिलकुमार झा, ह्दयश त्रिपाठी लगाएतका नेताहरु सहभागि सभामा झडप भएको हो।