गोरखा जनमुक्ति मोर्चा र सुरक्षाकर्मीबीच शनिबार दार्जिलिङमा भएको झडपका क्रममा ३ जना मारिएको पुिष्ट भएको छ।
दार्जिलिङका स्थानीय सञ्चारमाध्यमका अनुसार गोके बस्तीका विमल शसाङ्कर, केन्जालेका सुनिल राई र रेलिङका महेश गुरुङ्ग मारिएको मोर्चाले पुिष्ट गरेको छ।
शसाङ्कर र राई सिङ्गमरी नजिकै भएको झडपका क्रममा मारिएको र गुरुङ घुम भन्ने ठाउँमा मारिएका हुन्।
झडपका क्रममा इन्डियन रिजर्भ बटालियनका एक अफिसर किरण तामाङसहित ३५ सुरक्षाकर्मी घाइते भएका छन्।
घाइते तामाङको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ।
केही वर्षयता दार्जिलिङमा भड्किएको हिंसामा परी मानिस मारिएको यो पहिलो पटक हो। मोर्चाले पश्चिम बंगाल सरकारसँग कुनै पनि किसिमको वार्ता नगर्ने जनाएको छ।
मुख्यमन्त्री ममता बेनर्जीले आफूहरूलाई अपमानजनक व्यवहार गर्ने र आतकंकारीसमेत भनेकाले उनीसँग कुनै पनि हालतमा कुरा नगर्ने मोर्चाका नेताहरूले बताएका छन्।
अब केन्द्रीय सरकारसँगै वार्ता गर्ने उनीहरूको भनाइ छ। गोरखा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरुङको पातलेवासस्थित निवास र कार्यालयमा प्रहरीले छापा मारेपछि दार्जिलिङमा पछिल्लो हिंसा भड्किएको हो।
प्रहरीले छापा मारेको विरोध गर्दै शनिबार मोर्चा समर्थकले दार्जिलिङका विभिन्न स्थानबाट ‘डेस्टिनेसन पातलेवास’ नामक मार्च निकालेका थिए।
मार्चका क्रममा उनीहरूले सिलिगुढीबाट दार्जिलिङ अाउने बाटो बन्द गरिदिएका थिए। पातलेवास हिँडेको मार्च रोक्न प्रहरीले प्रयास गरेपछि दुई पक्षबीच झडप भएको थियो।
दार्जिलिङमा हिंसा भड्किएपछि सेना परिचालन गरिएको छ। खर्साङ र कालिङपोङमा पनि सेना तैनाथ गरिएको भारतीय सञ्चारमाध्यामहरूले जनाएका छन्।
अलग्गै राज्य गोर्खाल्याण्डका लागि यसपालिको अान्दोलन निर्णायक हुने गोरखा जनमुक्ति मोर्चाका प्रमुख गुरुङले बताएका छन्।
मोर्चाले सोमबारदेखि दार्जिलिङ र कालिङपोङ जिल्ला लगायत आसपासका क्षेत्रमा अनिश्चित आमहड्ताल आह्वान गरेको छ।