प्रधानमन्त्री शेरबहादुर देउवाले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा बनाउन गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओलीले थप अध्ययन गर्नुपर्छ भनेपछि संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष टुंगिएको छ।
सिंहदरबारमा सोमबार बिहान बसेको बैठकमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष शेरबहादुर देउवाले न्यायपरिषद्ले पठाएका सर्वोच्चका ६ न्यायाधीश मध्ये पराजुलीको नाम प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेका थिए।
केही दिन अघि न्यायपरिषद्ले प्रधानन्यायाधीश हुन योग्यता पुग्ने भन्दै पराजुली सहित सर्वोच्चका न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीशप्रसाद शर्माको नाम संवैधानिक परिषदलाई पठाएको थियो। पराजुली यी सबै भन्दा वरिष्ठतम न्यायाधीश हुन्। केहि अघिसम्म न्यायपरिषद्मा उनको उमेर निकै विवादित बनेको थियो। उनले २०३० सालमा लिएको नागरिकतामा उनी २१ वर्षका थिए जसअनुसार उनको जन्ममिति खुलाउँदा २००९ साल साउन २१ गते हुन्थ्यो। उनले ३७ वर्षपछि काठमाडौँबाट निकालेको त्यहि नागरिकताको प्रतिलिपिमा भने उनको जन्ममिति २०१० साल बैशाख १६ गते छ। उनले नागरिकताको प्रतिलिपि अनुसार आफ्नो जन्ममिति कायम हुनुपर्ने भन्दै दुई वर्ष अघि न्यायपरिषद्मा निवेदन दिएका थिए। तर तत्कालिन प्रधानन्यायाधीश रामकुमार साहले पछिल्लो नागरिकताको जन्ममिति कायम नहुने भनेका थिए।
२०७३ सालमा भने दुईवटा जन्ममिति भए जुन खुलेको छ त्यसैलाई मान्यता दिने भन्ने व्यवस्था ऐनमै थियो। यहि कानुन अनुसार आफ्नो पछिल्लो जन्ममिति कायम हुनुपर्ने पराजुलीको जिकीर थियो। पूर्व प्रधानन्यायाधीश कार्कीले भने उनका तीनवटा उमेर देखिएको र विवादित समेत भएको भन्दै पछिल्लो उमेर कायम हुन नसक्ने निर्णय गरेकी थिइन्। उनले आफुले प्रधानन्यायाधीश हुनुअघि यहि उमेर कायम गर्दै ६ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएकी थिइन्। उनी गएपछि कायममुकायम प्रधानन्यायाधीश नेतृत्वको न्यायपरिषद्ले पराजुलीको पछिल्लो उमेर कायम गरेर संवैधानिक परिषद्मा पठाएको थियो।
आजको परिषद् बैठकमा एमाले अध्यक्ष ओलीले पराजुलीबारे थप अध्ययन अध्ययन गर्नु पर्ने बताएपछि बैठक बिना निष्कर्ष टुंगिएको परिषद्स्रोतले बताएको छ। प्रस्तावमाथि छलफल र अध्ययन गर्न अाज समय नभएको अन्य पदाधिकारी भनेपछि बैठक केही निर्णय नगरी सकिएको हो।
'बैठकमा छलफल भइरहेको थियो,' बैठकमा सहभागी एक पदाधिकारीले भने, 'अाज हतार छ चुनाव सकेर अर्को बैठकमा प्रधानन्यायाधीश सिफारिस गरौं भन्ने उहाँहरूको प्रस्ताव अायो। त्यही भएर अाज प्रधानन्यायाधीश सिफारिस हुन सकेन।'
उक्त प्रस्तावमाथि अध्ययन र छलफल गर्न समय लाग्ने भएकाले परिषद्को अर्को बैठक असार १५ गते बस्ने बस्ने छ।
प्रधानन्यायाधीशको पदबाट सुशीला कार्कीले अवकास पाएपछि अहिले उक्त पद खाली छ। उनले अवकाश पाएपछी न्यायलयको नेतृत्व कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले सम्हालेका छन्।
अन्य सबै पदाधिकारी उपस्थित भए पनि कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली अाफैं प्रधानन्यायाधीशका दाबेदार भएकाले बैठकमा अनुपस्थित थिए।