फ्रेन्च राष्ट्रपति इम्यानुएल माक्रोंका लागि सन् २०१७ असाधारण सफलताको वर्ष सावित भएको छ।
जनवरीको सुरूवातमा उनी ३९ वर्षीय विद्रोही राजनीतिज्ञ थिए। चलाख र महत्वकांक्षी भएपनि उनलाई मूलधारे राजनीतिक दलले समर्थन गरेका थिएनन्।
त्यसको ६ महिनापछि सबैलाई आश्चर्यमा पार्दै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् उनी फ्रान्सको राष्ट्रपति निर्वाचित भए।
त्यति मात्र होइन राष्ट्रपति निर्वाचन भएको एक महिनापछि भएको संसदीय चुनावमार्फत् उनले फ्रान्सको राजनीतिक संस्थापनको संरचना नै बदलिदिएका छन्।
आइतबार सम्पन्न संसदीय निर्वाचनमा पनि माक्रोंको ‘मुभ पार्टी’ले कूल ५७७ मध्ये ३५५ स्थान जित्ने पक्का भएको छ। जसको अर्थ अब संसदमा समेत उनको पार्टीले बलियो बहुमत प्राप्त गर्नेछ। उनी शक्तिशाली राष्ट्रपति भएका छन्।
कूल १२५ स्थानमा विजयी दक्षिणपन्थी रिपब्लिकनस् उनका प्रतिपक्षी हुनेछन्। माक्रोंको उदय हुनुअघि सत्तामा रहेको बाम-समाजवादीहरुले लज्जास्पद हार बेहोरेका छन्। उनीहरुले कूल ४८ स्थानमा मात्र सफलता प्राप्त गर्ने भएका छन्।
‘तपाईंहरुले फ्रान्सका राष्ट्रपति र सरकारलाई स्पष्ट बहुमत दिनुभएको छ,’ फ्रान्सका प्रधानमन्त्री इडुआर्ड फिलिपले भनेका छन्, ‘अब सरकारको लक्ष्य भनेको फ्रान्सका लागि काम गर्ने हुनेछ। उक्त मतदानमार्फत् फ्रान्सेली जनताको बहुमतले आक्रोश नभएर आशाको बाटो रोजेका छन्। भाग्नुलाई होइन आत्मविश्वासलाई रोजेका छन्।’
माक्रोंले राष्ट्रपतिमा हराएका लि पेनको पार्टीले चुनावमा नराम्रो धक्का खाएको छ। लि पेन संसदमा निर्वाचित भएकी छन्, तर पार्टीभित्र अबको बाटो र सिद्धान्तलाई लिएर अन्तरिक कलह बढेको छ।
फ्रान्सका अर्को बम राजनीतिज्ञ जिन-लुक मेलेन्कोको पार्टीले १९ सिट जित्ने लगभग पक्का भएको छ। कम्यूनिष्टहरुसँग मिलेर चुनाव लडेका मेलेन्कोको पार्टीले व्यापार र युरोपियन युनियन पक्षधर माक्रोंको सत्तालाई चुनौती दिनेछ।
चुनावमा कम मतदाताको उपस्थितिका कारण माक्रोंको पार्टीले बहुमत प्राप्त गर्न कठिन हुने धेरै विश्लेषकको भनाइ थियो। संसदमा आफ्नो दलको बहुमत नहुँदा उनले चाहेको नीति निर्माण र कार्यन्वयनमा अप्ठ्यारो हुनसक्थ्यो।
तर फ्रान्सेली जनताले माक्रोंलाई चाहिएको म्यान्डेट दिए। माक्रोंलाई चुनावी राजनीतिमा सफलता प्राप्त गर्न सजिलो थिएन। उनले राजनीतिका बामपन्थी र दक्षिणपन्थी दुवै धारको विरोध गरेका थिए। तर उनले चाहेको ‘मध्यधार’ पश्चिमी जगतमा कमजोर भएको थियो।
डोनाल्ड ट्रम्प अमेरीकी राष्ट्रपतिमा निर्वाचित भएका थिए भने बेलायतले जनमत संग्रहमार्फत् युरोपियन युनियनबाट छुट्टिने निर्णय लिइसकेको थियो ।
वर्षौंपछि कुनै फ्रेन्च राष्ट्रपतिले यति ठूलो म्यान्डेट पाएका हुन्। फ्रान्सको खस्कँदो अर्थतन्त्र सुधारका लागि उनले महत्वपूर्ण सुधार कार्यक्रम बनाउने आशा गरिएको छ।
माक्रों फ्रान्समा मात्र होइन विश्वभरी नै चर्चामा आइसकेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग असहज किसिमिले हात मिलाएको र रसियाका राष्ट्रपति भ्लाद्मिर पुटिनलाई सिरियाका सम्बन्धमा गरेको आलोचनाका कारण चर्चामा आएका थिए।
अमेरिका पेरिस जलवायु सम्झौताबाट पछि हट्दा उनले सार्वजनिकरुपमै त्यसको निन्दा गरेका थिए।
उनको निर्वाचनले युरोपका उदारवादीलाई आशा र उत्साह दिएको छ। अपेक्षा गरिएअनुसार जर्मनीमा एंगेला मर्केलको दल पुनः निर्वाचित भए युरोपमा दुई शक्तिशाली नेता हुनेछन् जसले युरोपको वर्तमान उदारवादी राजनीतिक व्यवस्थालाई रक्षा गर्नेछन्।