पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा ‘जनयुद्ध’ कुनै नेताको मनोगत चाहनाले मात्रै नभएको बताएका छन्।
मंगलबार राजधानीमा पत्रकार उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’को विमोचन गर्दै दाहालले नेपालमा ‘जनयुद्ध’ समाजको आर्थिक, राजनीतिक, सामाजिक अवस्थितिका कारण सम्भव भएको बताए।
‘नेपालमा जनयुद्ध प्रचण्ड, बाबुराम वा अरु कुनै नेताको मनोगत चाहनाले भएको थिएन। हामीले त २०४४ सालमै जनयुद्ध गर्न चाहेका थियौं, हतियार किनेर गोरखामा तालिम पनि लिएका थियौं’, उनले भने, ‘तर, देशको राजनीतिले अर्कै मोड लियो। पञ्चायतका विरुद्धमा सडकमा जनलहर उर्लेर आयो, त्यस्तो परिस्थितिमा हामीले जनुयद्ध गरेको भए जनआन्दोलनका विरुद्धमा पञ्चायतलाई सघाएको सन्देश जान सक्थ्यो।’
उनले १२ बुँदे समझदारी नेपालमै होस् भन्ने आफूहरूको चाहना भएपनि प्रतिकूल परिस्थितिका कारण सम्भव नभएको बताए। ‘हामीले वार्ताका लागि कोशिश गरिरहेका थियौं। वीरेन्द्रका भाइ धिरेन्द्रसँग त साथीहरुले प्रत्यक्ष कुराकानी गर्नुभएको थियो,’ दाहालले भने, ‘वीरेन्द्रसँग वार्ताको प्राविधिक विषयमा कुराकानी चलिरहेको थियो, त्यही बेला दरबार हत्याकाण्ड घट्यो । दरबार हत्याकाण्डले नेपाली राजनीतिमा नयाँ मोड लियो। यसले फेरि देशभित्रका गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिहरुबीच समझदारी गरेर जानुपर्ने ऐतिहासिक आवश्यकता जन्मायो। यही प्रतिकूल परिस्थितिका कारण हामीले देशभित्रै चाहे पनि दिल्ली गएर १२ बुँदे समझदारी गरियो।’
विमोचन कार्यक्रममा सम्पादक नारायण वाग्ले, गुणराज लुइँटेल, युवराज घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट, नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा, पत्रकार गोविन्द आचार्य लगायतले पुस्तक समीक्षा गरेका थिए।