नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनलाई स्थानीय जनसरकारको रुपमा अर्थ्याएका छन्। माओवादीले भूमीगत कालमा तत्कालिन सरकारविरुद्ध समानान्तर जनसरकारको अभ्यास गरेको थियो।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने - 'यो स्थानीय जनसरकारको निर्वाचन हो। वैधानिकरुपमा ऐन कानुन बनाएर जनसरकारको निर्वाचन सरकार मार्फत गर्दैछौँ। यो स्थानीय तहको निर्वाचन होइन।'
उनले माओवादी केन्द्रको नेतृत्वमा सरकार नभएको भए स्थानीय तहको निर्वाचन नै नहुने अवस्था रहेको दावी गरे। 'कांग्रेस र एमाले पुरानै गाविस र नगरपालिकाको निर्वाचन चाहन्थे', अध्यक्ष दाहालले भने, 'मधेस पहाड निर्वाचनमा सहभागी हुने वातावरण बनेको छ।'
उनले स्थानीय तहको निर्वाचनबाट चोरलाई चौतारो र साधुलाई शुली हुने अवस्था अन्त्य गर्न आव्हान गरे। उनले भ्रष्टाचार गर्ने नेताहरुलाई देशको साँचो नदिन समेत आग्रह गरे।