प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार धनगढी उडे। डडेल्धुराका मतदाता उनी असार १४ गते दोस्रो चरणको स्थानीय तह निर्वाचनसम्म अब उतै हुने छन्। देउवा असार १५ गते मात्र काठमाडौं फर्किने कार्यक्रम रहेको उनका सहयोगी बद्री सिग्देलले बताए।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा यसबीच आफ्नो गृहनगरमा हुने चुनावी सभामा सरिक हुनेछन्। शुक्रबारै उनले धनगढी उपमहानगरपालिकाका कांग्रेस मेयर उम्मेदवार नृप वडका लागि मत मागे।
देउवाजस्तै प्रमुख दलका शीर्ष नेताहरु गाउँपलिका र नगरपालिकाका अध्यक्ष र प्रमुखलाई मत माग्न प्रचारमा व्यस्त छन्। उनीहरु गाउँ र नगरको अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख मात्र होइन, वडा अध्यक्षका निम्ति पनि मत मागिरहेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चार दिनदेखि झापामा छन्। उनी असार ५ गते संवैधानिक परिषद्को बैठकसमेत छोट्याएर चुनावी सभाका लागि त्यहाँ पुगेका हुन्। ओली झापाका प्रत्येक नगरका चुनावी सभामा सहभागी भइरहेका छन्। उनी असन्तुष्ट कार्यकर्ता मिलाउन भेटघाटमा समेत लागिरहेका छन्। हालै उनले गौरादहको सभामा 'एमालेले ६० वर्ष पुगेकालाई गोली हानेर मार्छ भन्ने भ्रम फैलाइएको' भन्दै आक्रोश पोखे।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चुनावी सभाका लागि दौडिरहेका छन्। असार ६ गते उदयपुर ओर्लिएका दाहालले बर्दिया, कैलाली र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गरिसकेका छन्। उनले एकैदिन ७ वटासम्म चुनावी सभालाई सम्बोधन गरेको भिडियो उनका छोरा प्रकाश दाहालले फेसबुकमा पोस्ट गरेका छन्।
नेताहरुले चुनावी सभालाई सम्बोधन गर्दा स्थानीय मुद्दा समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन्। स्थानीय उम्मेदवारलाई मत समेत मागिरहेका छन्। कञ्चनपुर, पुनर्वासको चुनावी सभामा दाहालले स्पष्टसँगै भने, 'यो नगरको प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुसँग म हटलाइन सम्पर्कमा हुन्छु। पावरफुल नेताहरुसँग सम्पक हुँदैन कि भन्ने चिन्ता नलिनुहोला। प्रचण्डमाथि राज गर्न चाहनुहुन्छ भने उहाँहरुलाई विजयी गराउनुहोस्।'