स्थानीय विकास मन्त्रालयले गाउँ/नगर कार्यपालिका र तिनका वडाको बैठक कसरी बस्ने भन्ने कार्यविधि बनाइदिएको छ।
उक्त कार्यविधिमा गाउँनगर कार्यपालिकाको बैठक कम्तिमा महिनाको एकपटक बस्नुपर्ने उल्लेख छ। वडामा पनि यही नियम लागू हुनेछ।
प्रमुखको अध्यक्षतामा बस्ने बैठकमा के छलफल हुने भन्ने पनि उसैले तय गर्ने छ। बैठक बोलाउने जिम्मा भने गाउँनगरमा कार्यकारी अधिकृत र वडामा वडासचिवको हुने कार्यविधिमा उल्लेख छ।
गाउँनगर र वडा कार्यालयमै बैठक बस्ने छ। बैठक बस्ने जानकारी गाउँ नगरमा तीनदिन अघि कार्यकारी अधिकृतले गराउने छ भने वडामा २४ घण्टा अघि नै वडासचिवले सबै सदस्यलाई गराउने छ।
वैठक कार्यक्रम र विषय प्रमुख वा अध्यक्षको निर्देशनमा कार्यकारी अधिकृतले लिखित रूपमै बनाउनुपर्ने छ।
वैठक व्यवस्थित गर्ने, बोल्ने पालो र समय मिलाउने काम पनि बैठकको अध्यक्षता गर्ने व्यक्तिले नै गर्ने कार्यविधिमा उल्लेख छ।
अध्यक्षको आसनको सम्मान गर्ने काम र एकजना बोलिरहेको ठाउँमा अरू सदस्यले बोल्न नपाइने कार्यविधिमा उल्लेख छ।
यसरी बैठकको छलफल भएपछि प्रमुख र अध्यक्षले प्रस्ताव निर्णायार्थ पेश गर्ने छ।
सकेसम्म सर्वसम्मतिले निर्णय गर्नुपर्ने छ। मत विभाजन भए प्रमुख सहित बहुमतको निर्णयलाई बैठकको निर्णय मानिने छ।
बजेट,कार्यक्रम,नीति तथा स्थानीय तहको नियमावली बाहेकका विषयमा निर्णय नै हुन नसके प्रमुखको उत्तरदायित्व हुने गरि उसैले निर्णय लिन सक्ने छ।
निर्णयमा कसैको नोट अफ डिसेन्ट भए लेख्न पाउने छ।