नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफ्ना लागि २ नम्बर प्रदेशको चुनाव सारेको आरोप लगाएका छन्।
विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीहरुसँग बोल्दै उनले नेपाली काँग्रेसले राजपालाई देखाएर आफ्ना लागि चुनाव सारेको बताएका हुन्। उनले सरकारले मुलुकलाई अहित हुने गरी मैथिली, भोजपुरी लगायत भाषा मास्ने कबुल गरेको दाबी समेत गरे।
संविधान संसोधन गर्न सकिने भन्दै अध्यक्ष ओलीले निर्वाचनपछि त्यसबारे छलफल हुने स्पष्ट पारे। संसोधनका नाममा कुनै दलले कसैसँग गरेको राष्ट्रहित विपरित सम्झौता कार्यान्वयनको दिशामा एमालेले कहिले साथ दिन नसक्ने भन्दै उनले राष्ट्र, राष्ट्रियता र जनताको हितका लागि आफूहरु सधै्र छलफल गर्न तयार रहेको स्पष्ट पारे।
अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निश्पक्ष र विश्वासिलो बनाउन निर्वाचन आयोगको भूमिका पनि स्वतन्त्र, पारदर्शी तथा निश्पक्ष हुनुपर्ने भन्दै संबैधानिक निकायको दायित्व र जिम्मेवारी बोध आयोगलाई होस् भन्ने आशा आफूले लिएको बताए।