चिनियाँ राष्ट्रपति सी चिनफिङ यही जुन २९ देखि जुलाई १ तारिखसम्म हङ्कङ भ्रमण गर्ने भएका छन्। उनले यसैहप्ता हङ्कङ भ्रमण गर्न लागेको चिनियाँ समाचारमाध्यमले आइतबार जनाएका छन्।
हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको वार्षिकोत्सवका अवसरमा उनी त्यहाँ जान लागेको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ।
आगामी हप्ता सो हस्तान्तरणको २० बर्ष पुग्न लागेको छ। सोही अवसर पारेर हङकङमा आयोजना हुन लागेको समारोहमा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लागेको पुष्टि आइतबार भएको हो।
उनले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने केही बताएका थिएनन्। तर उक्त समारोहमा राष्ट्रपति सी उपस्थित हुनसक्ने सम्भावनाको समाचार यसअघि नै आएको थियो ।
उनी सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङ्कङ भ्रमण हो। चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उनको हङ्कङ भ्रमण निश्चित भएको आइतबार जनाएको छ।
हङ्कङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ। सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङ्कङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ।
यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण नगर्न पनि सक्छन् भन्ने अनुमान पनि गरिएको थियो । तर आज सिन्ह्वाले नै सो समाचार सार्वजनिक गरेको छ।
हङ्कङ हस्तान्तरण गरिएको समयको अवसर पारेर ठूलो सङ्ख्याका नागरिकले प्रदर्शनको तयारी गरेका हङकङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
त्यसैले पनि उनको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषकहरु बताउँछन्।
हङकङको पाँचौ प्रशासकीय क्षेत्र उद्घाटनको विशेष अवसरमा पनि उनी उपस्थित हुने चिनियाँ समााचार समितिले जानकारी दिएको छ । रासस/सिन्ह्वा/एएफपी