असार १४ गते ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुदैँछ। मौन अवधि सुरु भएपछि प्रचारप्रसार टुङ्ग्याएका दलहरूको ध्यान चुनाव परिणाममा केन्द्रीत हुन थालेको छ।
१५ हजार ३८ प्रतिनिधि छनौटका लागि हुने निर्वाचनको परिणामबारे दलहरूका आ-आफ्नै दाबी छन्। पहिलो चरणमा प्रतिष्पर्धा गरेका प्रमुख तीन दल दोश्रो चरणमा आफू पहिलो पार्टी दाबी गरिरहेका छन्। जित हात पार्ने कारण समेत उनीहरूले दाबीका साथ प्रस्तुत गरिरहेका छन्।
दोस्रो चरणको चुनावमा कसले धेरै सिट जित्ला? दलहरूका दाबी जानुअघि पहिलो चरणको मतपरिणाम हेरौं, जसले आगामी चुनावबारे पनि केही संकेत गर्छ।
पहिलो चरणमा निर्वाचन भएको २ सय ८३ स्थानीय तहमध्ये नेकपा एमालेले सबैभन्दा धेरै स्थानीय तहमा जित हात पार्यो। २ सय ८२ स्थानको परिणाम आउँदा एमालेले १ सय २५ स्थानमा जित हात पार्यो। एमालेले ७२ गाउँपालिकामा अध्यक्ष जित्यो भने ५३ नगरपालिकामा जित हात पार्यो। उसले ४४ प्रतिशत स्थानमा प्रमुख जित्यो।
संसदको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले भने पहिलो चरणमा दोश्रो स्थानमा चित्त बुझायो। उसले ७२ गाउँपालिका अध्यक्ष र ३२ नगरमा गरी १०४ स्थानमा जित हात पार्यो। उसले ३६ प्रतिशत स्थानमा जित हात पार्यो्।
माओवादी केन्द्रले १० नगरको प्रमुख जित्यो भने ३६ गाउँपालिकामा जित हात पार्यो। उसले कूल ४६ स्थानीय तह जित्दा १६ प्रतिशत स्थानमा जीत हात पार्न सक्यो।
पहिलो चरणको स्थानीय चुनावमा कसले राम्रो गर्यो भन्ने प्रश्नको निर्क्यौल अघिल्लो स्थानीय चुनावको परिणामसँग तुलना गरेर गर्न सकिन्थ्यो। तर २० वर्षपछि यो स्थानीय चुनाव हुने क्रममा छ, त्यसमाथि यो स्थानीय तह पुनर्संरचनापछिको पहिलो चुनाव हो। त्यसैले पछिल्ला चुनावसँग यसको तुलना हुन्न।
विश्लेषणको एउटा आधार पछिल्लो संविधानसभा चुनावमा पार्टीहरूले यी तीन प्रदेशमा जितेको सिट संख्याको प्रतिशत र पहिलो चरणको स्थानीय तहमा उनीहरूले जितेका मेयर/गाउँपालिका प्रमुखको प्रतिशतको तुलना हुन सक्छ।
पहिलो चरणमा चुनाव भएका यी तीन प्रदेशमा पछिल्लो संविधानसभामा प्रत्यक्षतर्फ ८४ सांसद निर्वाचित भएका थिए। तीमध्ये कांग्रेसबाट ४३ अर्थात् ५१ प्रतिशत, एमालेबाट ३१ अर्थात् ३७ प्रतिशत र माओवादी केन्द्रबाट १० अर्थात् १२ प्रतिशत सांसद निर्वाचित भएका थिए।
यी तीन निर्वाचन प्रदेशमा सबैभन्दा धेरै ५१ प्रतिशत सिट जितेको कांग्रेसले पहिलो स्थानीय तहमा ३६ प्रतिशत मात्र सिट जित्यो, अर्थात् कांग्रेसको सिट संख्या १५ प्रतिशतले घट्यो। संसदको दोस्रो र तेस्रो ठूलो दल एमाले र माअोवादी केन्द्रले भने पहिलो चरणको स्थानीय निर्वाचनमा सांसदको तुलनामा सिट प्रतिशत बढाए।
संसदमा ३७ प्रतिशत सिट जितेको एमालेले पहिलो चरणमा स्थानीय तहका प्रमुखमा ४४ प्रतिशत जित हासिल गर्यो।
त्यस्तै संसदमा तीन प्रदेशका निर्वाचन क्षेत्रबाट १२ प्रतिशत सासंद जितेको माअोवादी केन्द्रले यी प्रदेशका स्थानीय तहमा १६ प्रतिशत प्रमुखमा विजय हासिल गर्यो।
यसरी पहिलो चरणमा विशुद्ध अंकगणितका आधारमा भन्दा एमालेले पछिल्लो संविधान सभा निर्वाचनको तुलनामा तीन प्रदेशमा ८ प्रतिशतले अाफ्नो सिट बढाएर चुनाव सबैभन्दा धेरै सफलता हासिल गर्यो।
दोस्रो चरणको चुनावमा के होला ?
यो प्रश्नको उत्तर खोज्नुभन्दा पहिले दोस्रो चरणको चुनाव हुन लागेका तीन प्रदेशमा अघिल्लो संसदीय निर्वाचनमा यी तीन पार्टीमध्ये कसले कति सिट जितेको थियो हेरौं।
दोश्रो संविधान सभा यी तीन प्रदेशमा एमाले सबैभन्दा धेरै सिट जितेको थियो। तीन प्रदेशका ३५ जिल्लामा १ सय ६ निर्वाचन क्षेत्र रहेका छन्। जसमा नेकपा एमालेले ४५ ठाउँमा जितेको थियो भने कांग्रेसले दुई सिट कम ४३ ठाउँमा जितेको थियो।
तेस्रो, ठूलो दल माओवादी केन्द्रले जम्मा ८ ठाँउमा जितेको छ। नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टीले तीन–तीन ठाउँमा जितेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २ र संघीय समाजवादी फोरमले पनि २ क्षेत्रमा निर्वाचन जितेका छन्।
प्रदेश नम्बर एकका १४ जिल्लामा ४४ वटा निर्वाचन क्षेत्र छन्। तीमध्ये एमालेले २३ वटा निर्वाचन क्षेत्र जितेको थियो भने कांग्रेसले १७ जितेको थियो। माओवादी केन्द्र, राप्रपा र दुबै फोरमले क्रमशः एक–एक स्थान जितेका थिए।
प्रदेश नम्बर ५ का १२ जिल्लामा ४१ निर्वाचन क्षेत्र छन्। यो प्रदेशमा कांग्रेस पहिलो पार्टी भएको थियो। कांग्रेसले १७ स्थानमा जितेको छ भने दोस्रो बनेको एमालेले १३ स्थान जितेको छ। माओवादी केन्द्रले ६ स्थानमा जितेको छ भने राष्ट्रिय जनता पार्टीले ३ स्थानमा जितेको छ।
दोश्रो संविधानसभाको प्रत्यक्ष निर्वाचनलाई आधार मान्ने हो भने राजपा पाँच नम्बर प्रदेशमा चौथो ठूलो दल हो। राजपाले दोस्रो चरणको स्थानीय चुनाव बहिस्कार गरेको छ। राप्रपा र संघीय समाजवादी फोरमले एक–एक स्थानमा विजय हासिल गरेका छन्।
प्रदेश नम्बर सातमा भने कांग्रेस र एमालेको हैसियत बराबर छ। प्रदेश नम्बर सातका ९ जिल्लामा २१ निर्वाचन क्षेत्र छन्। त्यहाँ कांग्रेस र एमाले समान ९–९ क्षेत्रमा विजयी भएका थिए।
यो प्रदेशमा लोकतान्त्रिक फोरमले दुई स्थान जितेको थियो भने माओवादी केन्द्र १ स्थानमा विजयी भएको थियो ।
पहिलो चरणको स्थानीय निर्वाचनमा ती क्षेत्रको संसदीय चुनावभन्दा राम्रो गरेको एमाले दोस्रो चरणको चुनावलाई लिएर स्वभाविक रूपमा उत्साही छ। दोस्रो चरणमा चुनाव हुन लागेका प्रदेशमा त एमालेले गत संविधानसभामै अरु दलभन्दा धेरै सिट जितेको थियो।
तर नेपाली कांग्रेस पनि दोश्रो चरणको निर्वाचनमा पहिलो पार्टी बन्ने केन्द्रीय सदस्य गगन थापाले दाबी गरे। कांग्रेसले पहिलो चरणमा एमालेभन्दा २१ स्थानमा कम जितेको थियो।
'हामी अघिल्लो पटकको क्षतिपूर्ति गरेर पहिलो पार्टी बन्छौं। ५१ देखि ५५ प्रतिशत तहमा जित्छौँ,’ थापाले भने।
गगनको जस्तै दाबी एमाले पोलिटब्यूरो सदस्य विष्णु रिमालको पनि छ। उनी भन्छन्, 'हामी ५० देखि ६० प्रतिशतकोबीचमा जित्छौं। अझ भनौं ५१ देखि ५५ प्रतिशत तह जित्छौं।'
कांग्रेस र एमाले मात्र होइन, माअोवादी केन्द्रको पनि दोस्रो चरणको चुनावमा पहिलो पार्टी बन्ने लक्ष्य छ। पार्टी प्रवक्ता समेत रहेकी पम्फा भुषाल भन्छिन्, 'दोश्रो चरणमा हामी पहिलो पार्टी हुन्छौं। १००देखि १२५ स्थानीय तह जित्छौं।'
जितका अाधार के हुन् त पार्टीहरूका?
दोश्रो चरणको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्न सक्ने धेरै कारण रहेको बताउछन्, कांग्रेस नेता थापा।
'हामीले समयमा टिकट बाँड्यौँ अनि यसपटक हामी राष्ट्रिय राजनीतिमा ‘डिफेन्सिभ' बाट 'अफेन्सिभ' अवस्थामा आयौं', उनले भने 'पहिलो चरणमा ध्यान मुख्य सहरमा भयो। टिकट ढिला बाँडियो, त्यसले गर्दा दोस्रो स्थानमा पुग्यौं।'
पहिलो चरणको निर्वाचनअघि प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग दर्ता, लोकमानसिंह कार्कीमाथिको महाभियोगको मौनता र नेपाल प्रहरीको आइजीपी नियुक्ति विवादले कांग्रेस ‘रक्षात्मक’ अवस्थामा थियो।
'संविधान बनाएको पार्टी, सरकारमा रहेर पहिलो चरणको चुनाव गरेको र दोश्रो चुनाव सम्पन्न गराउन लागेकाले यसपटक हाम्रो 'अफेन्सिभ एप्रोच' छ', थापाले भने।
थापा यसपटक व्यवस्थापकीय कमोजरी कम भएको र छिटो टिकट टुङ्ग्याएका स्थानमा प्रचारका लागि समय पुगेको कारणले पनि कांग्रेसलाई सहज हुने बताउँछन्। 'नेताहरूको परिचालन सबैतिर भयो। कोही न कोही कहीँ न कहीँ गएकाले माहौल बेनेको छ', उनले भने।
एमाले पनि कम आक्रमक छैन। पोलिटब्युरो सदस्य रिमाल प्रश्न सोध्छन्, ‘प्रदेश नम्बर पाँच टुक्रयाउने पक्षमा रहेको कांग्रेसले बुटवलमा के भनेर भोट माग्छ?'
पहिलो चरणमा देखिएको माहौल दोश्रो चरणमा पनि एमालेको पक्षमा जारी रहने उनको दाबी छ। 'कांग्रेसको वैशाखी नटेकी उभिने अवस्था छैन, हामीले पहिलो चरणमा ५५ प्रतिशत नगर जितेका छौँ, दोस्रो चरणमा पनि हामी धेरै जित्छौँ', उनले भने।
एमालेले पहिलो हुने दाबी गरिरहँदा माओवादी केन्द्र पनि पहिलो चरणभन्दा दोश्रो चरणमा नतिजामा सुधार हुने अाशामा छ।
माअोवादी केन्द्रकी प्रवक्ता पम्फा भुषाल भन्छिन्, 'हाम्रो छवि सुध्रिएको छ। अनि शीर्ष नेतृत्व यसपटक सबै ठाउँमा पुगेको छ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल यसपटक निर्वाचन प्रचारमा कस्सिएरै लागेका छन्। सरकार बन्दै गर्दा लागको 'लम्पसारवाद' को आरोप दाहालले केही रूपमा काममार्फत् खण्डन गरेका छन्।
देउवालाई सरकार छाडेर 'नैतिकता' देखाएका दाहालको 'फास्ट ट्र्याक’ अाफैं बनाउन अघि बढाएको र चीनसँगको 'ओबिओआर' सम्झौतापछि राजनीतिक छवि सुधार भएको माअोवादीको बुझाइ छ।
पार्टीको छवि सुध्रिएकाले माहौल आफ्नो पक्षमा रहेको भुषालले दाबी गरिन्।
‘पहिलो चरणको चुनाव हुन्छ कि हुन्न भन्ने उल्झनबीच भयो। नेतृत्व 'फिल्ड'मा जान पाएन। अहिले गएको छ', उनले भनिन्, 'हाम्रा विरुद्धका भ्रम चिरिएका छन्। त्यसैले यसपालि हामी धेरै जित्छौं।’
कहाँ कसको जित्ने दाउ?
कांग्रेस नेता थापा आफ्नो पार्टीले प्रदेश नं ७ बाट स्पष्ट अग्रता लिने बताउँछन्। उनी प्रदेश नं १ मा एमालेसँग प्रतिष्पर्धा हुने र प्रदेश नं ५ मा अाफ्ना मतदाता सुरक्षित राख्दा मात्र पनि कांग्रेस दोश्रो चरणमा पहिलो पार्टी बन्ने बताउँछन्।
कांग्रेसलाई प्रदेश नं ७ का कैलाली, कञ्चपुर र डडेल्धुरा लगायतका जिल्लाबाट धेरै जितको आशा छ। पार्टी सभापति तथा प्रधानमन्त्रीको शेरबहादुर देउवाको प्रदेश पनि भएकाले त्यहाँ यसपालि कांग्रेसले जित हात पार्ने दाबी उनले गरे। प्रदेश नं ५ मा २०७० को संविधानसभाको निर्वाचनमा कांग्रेसले राम्रो गरेकोले यसपटक पनि मत आफ्नो पक्षमा रहेको थापाको तर्क छ।
कांग्रेसलाई प्रदेश नम्बर १ मा पनि एमालेसँग बराबरीको टक्कर हुने आशा छ।
एमाले नेता रिमाल भने १ नम्बर प्रदेशबाट आफ्नो पार्टीले अग्रता लिने दाबी गर्छन्। एक नम्बर प्रदेशको मोरङमा अाफ्नो दल पछाडि रहे पनि सुनसरीमा एमालेका पक्षमा माहौल रहेको उनको जिकिर छ। झापाको माहौल पनि आफ्नो पक्षमा रहेको उनले बताए। 'पूर्वी पहाडमा हामी जित्छौँ, प्रदेश १ मा ६० प्रतिशत जित्छौ', उनले भने।
रिमालले एमाले कैलाली र कञ्चनपुरमा केही पछाडी पर्ने अवस्था रहेपनि पश्चिमको पहाडी क्षेत्रमा राम्रो रहेको बताए। 'एमाले उपाध्यक्ष समेत रहेका भीम रावलको जिल्ला अछामसहित बाजुरामा पार्टीको राम्रो पकड छ,’ उनले भने।
प्रदेश नं ५ मा गुल्मीमा एमाले नेता प्रदीप ज्ञवाली कांग्रेसका चन्द्र भण्डारीसँग हारेको भए पनि अहिले माहौल फेरिएको र आफ्नो पार्टी बलियो रहेको रिमालको दाबी छ। 'काठमाडौँमा कांग्रेस बलियो थियो तर बढारियो नि, माहौल हाम्रो पक्षमा छ', रिमालले भने, 'नवलपरासी, रुपन्देहीमा हामी राम्रो छौँ। अहिलेको लहरले पनि हामीलाई पहिलो पार्टी बनाउछ।'