निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतदाता शिक्षाका लागि मात्रै झन्डै २ अर्ब बजेट छुट्यायो। तर पहिलो चरणको स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाको प्रभावकारीता देखिएन।
काठमाडौं महानगरमा १ लाख ९७ हजार २२७ मत खस्दा उममेयर पदमा मात्र ७६ हजार ४ सय ६४ मत बदर भयो।
उपमेयरमा विजयी हरिप्रभा खड्गीले ५८ हजार २ सय ५२ मत प्राप्त गर्दा त्योभन्दा धेरै मत बदर भयो।
एउटै मतपत्रमा सात स्थानमा छाप लगाउनु पर्ने झन्झटिलो मतपत्रका कारण अरु ६ हजार १ सय ८३ मतपत्र काठमाडौंमै बदर भए।
पहिलो चरणमा धेरै मत बदर हुनुका पछि निर्वाचन आयोग मात्र कारण छैन, फरक फरक चुनाव चिह्न भएका दलहरुको तालमेलले पनि मतदाता झुक्किएका छन्।
दलहरुले चुनावी तालमेलबारे जनतालाई बुझाउनै सकेनन्। त्यसकारण मेयर र उपमेयरमा गरिएको तालमेल प्रभावकारी देखिएन। काठमाडौंमा एमाले र राप्रपाले तालमेल गरेका थिए। तर मत भने उम्मेद्वार नै नभएको सूर्य चिन्हमा आएको थियो। दलहरूले पनि चुनावी तालमेलबारे कार्यकर्ता र मतदातालाई बुझाउन सकेनन्।
धेरै मत बदर हुनुको अर्को कारण मतपत्रको आकार हो। निर्वाचन आयोगले मतदाता शिक्षा दिन नसक्दा मत बदर भयो। एउटा चुनाव चिह्न माथि र अर्को तल हुँदा पनि मत बदर भए। कुनै दललाई एक लाइनमा मत दिएपछि पनि पुनः दोस्रो लाइनमा मत खसेको काठमाडौंको गणनामा देखियो। त्यसमाथि मतदाताले वडा स्तरमा चिनेका सबैलाई मत दिन लाग्दा पनि बदर भए।
वैशाख ३१ को पहिलो चरणमा निर्वाचनमा धेरै मत बदर भएपछि आयोगले ५ जेठमा विज्ञप्ति नै जारी गर्दै पुरै मतपत्रको बदर प्रतिशतलाई मात्र आधार मान्न आग्रह गर्यो। तर आयोगले मतदाता शिक्षामा आफ्नो कमजोरी लुकाउन खोज्यो।
आयोग प्रवक्ता सूर्यप्रसाद शर्मा आयोगले पहिलो चरणमा पद अनुसार कति मत बदर भए भन्ने रेकर्ड एकीकृत गर्न बाँकी रहेको बताए। ’कूल मतपत्र बदर २ प्रतिशतभन्दा कम छ। तर पद अनुसार बदर भएका छन्। त्यो हिसाब हुन बाँकी छ।’
शर्मा पद अनुसार हुने मतको बदरमा दलहरूको भूमिका बढी हुने बताउँछन्। ‘तालमेलको अवस्थामा मतदातालई सूचीत गर्नु दलरुको पनि जिम्मेवारी हो’, उनले भने, ‘दलहरूले पनि हेर्न पर्यो नि त्यो।’
दोसो चरणको निर्वाचनमा मतदाता शिक्षामा धेरै जोड दिइएको उनले बताए। ‘मतदाता शिक्षा स्वयंसेवकलाई घरघरमा पुगेरै भेट्न भनेका छौँ। स्थानीय भाषामा मत हाल्ने तरिकाबारे विज्ञापन गरिएको छ। स्थानीय रेडियोमा विज्ञापन बजाउने पम्पलेट बाँड्ने, मतदान केन्द्रमा नमुना मतपत्र देखाउने काम पनि गरिएको छ’, शर्माले भने, ‘त्यही भएर यसपटक बदर मत घट्छ।’
यसपटक पनि पहिलो चरणकै जस्तै ठूलो मतपत्र प्रयोग हुँदैछ। अनि मतदान गर्दा पटक पटक मसी चोपेर मतपत्रमा छाप लगाउनुपर्ने हुँदा दोहोरो छापले बदरको सम्भावना उस्तै नै छ।
अझ जहाँ जहाँ दलीय तालमेल हुन्छ त्यहाँ बदर बढ्ने सम्भावना उत्तिकै छ। आयोग आफैँले तालमेलको विषयमा मतदातालाई शिक्षित गर्ने जिम्मा दलहरुलाई छाडेको छ। यस्तोमा मत बदरको सम्भावना अझै छ।
यसपालि पनि विराटनगर महानगरसहित विभिन्न ठाउँमा दलहरूबीच तालमेल भएको छ।
तालमेल भएका ठाउँमा दलहरूले मत बदर नहोस् भनेर मतादातालाई बुझाउन सक्दो प्रयास गरेका छन्। उनीहरूले तालमेल अनुसार कसरी मतदान गर्ने भनेर समेत सिकाएका छन्।
तालमेल भएका ठाउँहरूका मतदातालाई सम्झाउने काम गरिएको नेकपा माओवादी केन्द्रका रूपन्देही संयोजक रामप्रसाद बञ्जाडेले सेतोपाटीलाई बताए। बुटवल उपमहानगरमा कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीबीच तालमेल भएको छ।
पहिलो चरणको निर्वाचनबाट पाठ सिकेर यो निर्वाचनमा मत बदर हुन नदिन अभियान चलाइएको नेपाली कांग्रेसका नेता एवं रूपन्देही क्षेत्र नम्बर सातका सांसद भरतकुमार साहले सेतोपाटीलाई बताए।
उनले यो निर्वाचनमा बदर मत कम हुने समेत दाबी गरे।
- कुन कुन अवस्थामा मत बदर हुन्छ?
सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा, औठा छाप लगाइ वा तोकिएको छाप बाहेक अन्य चिह्न वा छाप लगाइ मत संकेत गरिएमा।
मत संकेत चिह्न नबुझिने गरी लतपचिएको वा च्यातिएको भएमा।
- उम्मेद्वारको निर्वाचन चिह्न रहेको कोठामा मतसंकेत नगरी अन्यत्र मतसंकेत गरिएको भएमा।
- उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मतसंकेत गरेमा।
- निर्वाचित हुने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मतसंकेत गरेमा।
- एक भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत संकेतको चिह्न पर्नेगरी मत संकेत गरिएमा।
- मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएमा।
- कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरिएमा।
- आयोगद्वारा निर्धा्रित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा।
- मत पेटिका भन्दा बाहिर मतपत्र राखिएमा।
- जाली मतपत्र वा आयोगले बदर हुने भनी तोकेको मतपत्र।