पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता रामशरण महतले कर फर्छ्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन्।
आर्थिक पत्रकार मञ्च नेपालले आज आयोजना गरेको ‘कर फर्छ्यौट आयोगः समस्या कि समाधान ?’ भन्ने अन्तक्रियामा टेलिफोनमार्फत लाइभ बोल्दै यो विवाद तत्काल टुङ्गो लगाउनुपर्ने बताएका हुन्।
मञ्चका अध्यक्ष नारायण गिरीले टेलिफोनमार्फत जिज्ञासा राख्दा डा. महतले कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका मञ्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पूर्वअर्थमन्त्री महतले कर फर्छ्यौट आयोग आँफैमा संवैधानिक आयोग भएकोले सरकारले बाहेक अरु कुनै निकायले आयोगमाथि छानबिन गर्न नपाउने स्पष्ट पार्दै ,‘कर फर्छ्यौट आयोगले गरेको निर्णयलाई अर्को निकायले चूनौति दिन मिल्दैन, त्यसैले हचुवाको भरमा यस्तो निर्णय गर्नुहुँदैन’ भनेको विज्ञप्तिमा उल्लेख छ।
महतले आयोगका पदाधिकारी सबैको बयान नलिई सदस्य सचिव शर्मामाथि एकपक्षीय ढंगले कारबाही गरेकोमा आपत्ति जनाएका पनि विज्ञप्तिमा उल्लेख छ।
कर फर्छ्यौटआयोगका पूर्व अध्यक्ष चण्डी श्रेष्ठले कर फर्छ्यौटआयोग समाधानको महत्वपूर्ण निकाय भएको भन्दै आयोगले गरेका निर्णय उल्टाउन नमिल्ने बताए। उनले करदाता र कर प्रतिनिधिबीच भएका विवादहरू बढाउनु उचित नभएको धारणा राखे।
आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक अरबिन्दकुमार श्रेष्ठले नेपालमा कर फर्छ्यौट आयोगको आवश्यकता नरहेको बताए। उनले हाम्रो देशमा थुप्रै आयोग बनेका भए पनि विवादमा ल्याउने काम गरेको भन्दै कर अधिकृत र करदाताबीचको सम्बन्धभन्दा बाहिर रहेर आयोगले कुनै काम गर्न नपाउने बताए।