पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले कर फर्छ्यौट आयोगको विषयमा आफूले कसैको पक्ष लिएर टिप्पणी नगरेको बताएका छन्।
आर्थिक पत्रकार मञ्च नेपालले मंगलबार आयोजना गरेको ‘कर फर्छ्यौट आयोगः समस्या कि समाधान?’ अन्तर्क्रियामा टेलिफोनमार्फत् लाइभ बोल्दै उनले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मामाथि हचुवा भरमा कारबाही गर्न नहुने भनेको भन्दै मञ्चले विज्ञप्ति जारी गरेको थियो।
महतले भने आफूले कसैको पक्षमा नबोलेको दाबी गर्दै दुवै पक्षको कुरा सुनेर, प्रमाण हेरेर र तथ्यमा आधारित रहेर कामकारबाही गर्नुपर्ने कुरा मात्र भनेको बताए।
कुनै पनि संवैधानिक निकायले गरेको वा गरिरहेको निर्णयबारे जथाभावी कसैले पनि टिप्पणी गर्न नहुनेमा आफू सचेत रहेको उनको भनाइ थियो। 'कसैले नियम कानुनभन्दा बाहिर गएर निर्णय गरेको भए, त्यसको कानुनी उपचारको बाटो स्वतः खुला भएकाले मैले बोल्ने जरूरी नै हुँदैन,' महतले सेतोपाटीसँग भने।
उनले अन्तर्क्रिया कार्यक्रममा फोनमा बोल्न नचाहँदा नचाहँदै पनि आयोजकले कर गरेपछि आयोग गठनको सैद्धान्तिक पृष्ठभूमिबारे मात्र बोलेको जानकारी दिए। यसबाहेक अरू कसैको पक्षमा एकतर्फी केही नभनेको उनले दाबी गरे।