भारतीय जनता पार्टीले गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन नगर्नुको कारण चिनियाँ फ्याक्टर र राष्ट्रिय सुरक्षाको मुद्धा रहेको भारतको प्रमुख दैनिक इन्डियन एक्सप्रेसले बताएको छ।
‘उक्त क्षेत्रबाट चिनियाँ आक्रमण हुन सक्ने कुरा केन्द्रीय सरकारले खुफियाबाट जानकारी प्राप्त गरेको छ,’ इन्डियन एक्सप्रेसले भाजपा स्रोतलाई उदृत गर्दै लेखेको छ।
नेपालसँग सीमा जोडेर नेपाली भाषी बाहुल्य प्रदेश निर्माण त्यसले राष्ट्रिय सुरक्षालाई थप संवेदनशील बनाउन सक्ने भारतीय विश्लेषकले दाबी गर्दै आएका छन्। त्यसरी निर्माण गरिएको प्रदेश ‘विदेशीको प्रभाव’ क्षेत्रमा रूपान्तरण हुन सक्ने उनीहरूको त्रास हुन्छ।
कहिलेकाहीँ सुनिने ‘ग्रेटर नेपाल’को मागलाई पनि भारतीय सुरक्षा विश्लेषकले नजिकबाट नियालिरहेका हुन्छन्।
बङ्गाल मुख्यमन्त्री ममता बेनर्जीले पनि गोर्खाल्याण्ड आन्दोलन उठ्नुमा ‘विदेशी तत्व’को हात रहेको बताउँदै आएकी छन्।
भारतमा गोर्खाल्याण्ड माग चर्कंदा त्यसमा एजेन्सीले ‘विदेशी संलग्न’ रहेको रिपोर्ट भारतीय खुफिया एजेन्सीहरूले निकाल्ने र मिडयालाई ‘लिक’ गर्ने गर्छन्।
हिजो भाजपाका महासचिव कैलास विजय वर्गीयले गोर्खाल्याण्ड प्रदेश निर्माणमा भाजपाले समर्थन गर्न नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।
भाजपाले ‘गोर्खा पहिचान तथा संस्कृति रक्षा गर्ने र उनीहरूले उठाएको विकासको मागलाई सम्वोधन गर्ने’, तर गोर्खाल्याण्डको मागलाई भने समर्थन नगर्ने विजय वर्गीयको भनाइ थियो।
गोर्खाल्याण्डको मागप्रति ऐक्यबद्धता जनाउँदै यसअघि भाजपा नेता जसवन्त सिंहले दार्जिलिङ जिल्लाबाट लोकसभा चुनाव जितेका थिए। दार्जिलिङ जिल्लालाई अहिले भाजपाका अर्का नेता एसएस अलुवालियाले प्रतिनिधित्व गर्छन्।
सन् २००९ र २०१४ मा भएको लोकसभा निर्वाचनमा भाजपाले गोर्खाल्याण्डको मागलाई ‘सहानुभूतिपूर्ण जाँच्ने र राम्ररी विचार गर्ने’ आफ्नो घोषणापत्रमा उल्लेख गरेको थियो।
भाजपाको अर्को चिन्ता भनेको बङ्गालबाट गोर्खाल्याण्ड छुट्टिए बङ्गाली जनमत आफूविरुद्ध जान्छ र त्यसले चुनावी धक्का दिन्छ भन्ने हो।
‘आफ्नो क्षेत्रमा विकाससम्बन्धी उनीहरूको मागलाई हेर्नुपर्छ र उनीहरु किन पछि परे भन्ने जस्ता कुराको सम्बोधन हुनुपर्छ,’ विजय वर्गीयले भनेका छन्।