प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि आन्तरिक विवादका कारण यो स्थानीय तह कांग्रेसले गुमाएको हो। यहाँ कांग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको थियो।
अजयमेरु गाउँपालिका अध्यक्षमा माओवादीका उमेश भट्ट २६९० मत ल्याएर विजयी भएको स्थानीय निर्वाचन अधिकृतले जानकारी दिए। उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका बागी उम्मेदवार लोकराज भट्ट छन्। उनले १७७९ मत ल्याए। कांग्रेसका आधिकारिक उम्मेदवार कमलसिंह भाटले १७४० मत ल्याएका छन्। यी दुवैको मत जोड्दा बागी उम्मेदवारी नपरेको भए कांग्रेस विजयी हुने स्थिति रहेको देखिन्छ।
उपाध्यक्ष पनि माओवादी केन्द्रका कलावती भाण २१७१ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेवार किशोर विष्टले १८०३ मत ल्याएका छन्।
यहाँका पाँच वडामध्ये एउटामा बाहेक बाँकीमा माओवादी केन्द्र विजयी भएका थिए।