प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये शुक्रबार साँझसम्म १९ स्थानको मत परिणाम आएको छ। यो नतिजाअनुसार सुदूरका पहाडी जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसबीच पहिलो हुन प्रतिस्पर्धा छ।
अहिलेसम्मको मतगणनामा एमालेले कांग्रेसको भन्दा दुई स्थानीय तह बढी जितेको छ।
एमालेले डडेल्धुराको अमरगढी नगरपालिकामा जित हात पारेको छ भने बझाङका चार गाउँपालिकामा जितेको छ। त्यस्तै, बाजुराका दुई, दार्चुलाका दुई र बैतडीको एक गाउँपालिकामा पनि एमाले उम्मेदवार विजयी भएका छन्।
एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसले पहाडका २ नगरपालिकामा जित हात पारेको छ। बाजुराको बडीमालिका र दार्चुलाको महाकाली नगरमा कांग्रेस उम्मेदवार विजयी भएका छन् भने डडेल्धुराका तीन, डोटी, बझाङ र बाजुराका एक/एक गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ।
माओवादी केन्द्रले भने डडेल्धुरामा एक गाउँपालिका जितेको छ।
प्रदेश नम्बर ७ का तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर र पहाडी जिल्ला अछामको भने मत परिणाम सार्वजनिक भएको छैन।