रुपन्देही जिल्लाका ६ स्थानीय तहमध्ये नेकपा एमालेले सबभन्दा बढी ४ वटामा अग्रता लिएको छ। एक उपमहानगर र ५ नगरपालिका रहेको रुपन्देहीको बुटवल उपमहानगर, सिद्धार्थ, तिलोत्तमा र सैनामैना नगरपालिका गरी ४ वटा स्थानीय तहमा एमालेले अग्रता लिएको हो।
नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको देवदह नगरपालिकाको मेयरमा भने नेपाली कांग्रेसको अग्रता छ। लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपा समर्थित स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्।
बुटवल उपमहानगरमा एमालेका मेयर उम्मेदवार शिवराज सुवेदी ३०५८ मतका साथ अगाडि छन् भने उनलाई कांग्रेस-माओवादीका संयुक्त उम्मेदवार खेलराज पाण्डेले २००० मतका साथ पछ्याइरहेका छन्। यहाँ एमालेकी उपमेयर उम्मेदवार गुमादेवी आचार्य कांग्रेस-माओवादी गठबन्धनका जगत पोखरेलभन्दा झन्डै १३०० मतले अगाडि छिन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि एमालेकै अग्रता छ। एमाले मेयर उम्मेदवार वासुदेव घिमिरेले २६१२ मत पाएका छन् भने कांग्रेस- माओवादीका संयुक्त उम्मेदवार रामकृष्ण खाणले २२९३ मत ल्याएका छन्। उपमेयर पदमा पनि एमालेकी जागेश्वरी चौधरी अगाडि छिन्।
सिद्धार्थनगर नगरपालिकामा अग्रता लिइरहेका एमाले उम्मेदवार हरि अधिकारीले १११८ मत ल्याएका छन्। यहाँ कांग्रेसका मातृका यादव १०७२ मतसहित दोस्रो स्थानमा छन्।
सैनामैनामा एमालेका चित्र केसी ३४०२ मतका साथ अगाडि छन्। दोस्रो स्थानमा रहेका कांग्रेसका फणिन्द्र शर्माले २५४१ मत ल्याएका छन्। उपमेयरमा पनि एमाले नै अघि छ। एमालेकी बिना रानाको ३१९४ मत छ भने कांग्रेसकी लक्ष्मी चौधरीको २४७८ मत छ।
देवदह नगरपालिकामा कांग्रेस-माओवादीका संयुक्त उम्मेदवार हिरा केसीको अग्रता छ। उनले १४५५ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमालेका टिकाराम चापागाईंले १४०७ मत ल्याएका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपा समर्थित स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीले ८४२ मतसहित अग्रता लिएका छन्। राजपाका केन्द्रीय सदस्यसमेत रहेका चौधरीलाई संघीय समाजवादी फोरमका मेयर उम्मेदवार फुकुरूद्दीन खानले ५०१ मतसहित पछ्याएका छन्।