माओवादी ‘जनयुद्ध’ को आधारभूमि भनेर चिनिएको र दोस्रो संविधानसभामा ‘नो भोट’ गरेको रोल्पाको थवाङले यसपालि चुनावमा दुइटा कारणले चर्चा पाएको छ।
चुनाव बहिष्कार मात्र होइन, बिथोल्ने रणनीति लिएको विप्लव माओवादी कार्यकर्ता अमीत घर्तीमगर नै कांग्रेससँग मिलेर थवाङमा चुनाव लडेका थिए। यति मात्र होइन, दोस्रो संविधानसभाको चुनावमा 'नो भोट' गरेको थवाङ २० वर्षपछि भएको स्थानीय तह चुनावमा एमालेलाई ‘नो भोट’ गर्नुले पनि चर्चामा छ।
मुलुककै दोस्रो पार्टी एमालेलाई शून्य मत दिएको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार वीरबहादुर घर्ती १९९० मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षको पद पनि माओवादीकै रामकिरणी रोक्काले जितेकी छन्। उनको १९६९ मत आएको छ।
यहाँ एमालेले अध्यक्षमा हितबहादुर रोका र उपाध्यक्षमा जन रोकालाई उठाएको थियो।
जम्मा ५८५३ मतदाता रहेको थवाङमा ६३ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यहाँ साविकको थवाङसहित, मिरुल र उवा गाविस गाभेर थवाङ गाउँपालिका बनाइएको थियो।
थवाङमा व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरले भोट खसालेकी थिइन्। माओवादी नेता वर्षमान पुन पनि यहीँ आएर भोट दिएका थिए।
२०६४ सालको संविधानसभा चुनावमा थवाङ गाविसबाट मात्रै तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ३६०० मत खसेको थियो। दाहाल काठमाडौंको कीर्तिपुरमा पनि विजयी भएकाले रोल्पाको निर्वाचन क्षेत्र २ छाडेका थिए। त्यसपछि भएको उपनिर्वाचनमा माओवादी नेता सन्तोष बुढाले थवाङबाट १८०० मत प्राप्त गरेका थिए। उनले पाएको मतभन्दा केही बढी मत मात्र अहिलेका अध्यक्षले पाएका छन्।