प्रदेश नम्बर १ का पहाडी जिल्लाका २ नगरपालिकासहित २० स्थानको मत परिणाम सार्वजनिक भएको छ।
शनिबार बिहानसम्म प्राप्त मत परिणाम पूर्वी पहाडमा एक नगरपालिकासहित ११ स्थानीय तह जितेर नेकपा एमाले पहिलो स्थानमा छ। एमालेले संखुवासभाको मादी नगरपालिका जितेको छ।
त्यस्तै, भोजपुरको हतुवागढी, खोटाङको जन्तेढुंगा, ताप्लेजुङको मौवाखोला, भोजपुरको रामप्रसाद राई, पौवा दुम्बा र ट्याम्के मैंयुम, धनकुटाको खाल्साछिन्ताङ, इलामको सन्दकपुर र पाँचथरको हिलिहाङ गाउँपालिकाको नेतृत्व आफ्नो पोल्टामा पारेको छ। भित्री मधेसको जिल्ला उदयपुरको ताप्ली गाउँपालिकामा पनि एमाले उम्मेदवारले जितेका छन्।
पूर्वी पहाडमा एमालेजस्तै एक नगरपालिका जितेको कांग्रेस गाउँपालिकामा भने पछाडि छ। भोजपुर नगरपालिकामा जितेको कांग्रेस ६ गाउँपालिका जितेको छ। संखुवासभाका चिचिला र सिलिचाङ, खोटाङको ऐंसेलुखर्क, ताप्लेजुङका मेरिङदेन र त्रिवेणी आठराई र पाँचथरको तुम्वेवा गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन्।
पूर्वी पहाडमा नेकपा माओवादी केन्द्र भने दुई पार्टीभन्दा निकै पछि छ। अहिलेसम्म उसले सोलुखुम्बुका दुई गाउँपालिकामा मात्र जित हात पारेको छ। सोलुखुम्बुका लिखुपिके र महाकुलुङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।