प्रदेश नम्बर ५ का चार उपमहानगरमध्ये बुटवल, तुलसीपुर र घोराइ गरी तीनवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। नेपालगञ्ज उपमहानगरमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अगाडि छन्।
पछिल्लो मतपरिणामअनुसार एमालेले अग्रता लिएको बुटवल उपमहानगरमा एमालेका मेयर उम्मेदवार शिवप्रसाद उप्रेतीले ४९१८ ल्याउँदा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले ४७०७ मत पाएका छन्।
तुलसीपुर उपमहानगरपालिकामा एमालेका मेयर उम्मेदवार घनश्याम पाण्डेले कांग्रेसका गेहेन्द्र गिरीलाई ३८४ मतले जितेका छन्। यहाँ पाण्डेले ३६८४ र गिरीले ३३०० मत ल्याएका छन्।
त्यस्तै, घोराइ उपमहानगरपालिमा पनि एमालेकै अग्रता छ। यहाँ एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ७१०७ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार भूपबहादुर डाँगीको ५१०२ मत छ।
यो प्रदेशको चौथो उपमहानगर नेपालगन्जमा भने राप्रपाले अग्रता लिएको छ। यहाँ राप्रपाका धवलशमशेर राणाले ३५४७ मत ल्याएका छन् भने माओवादी केन्द्रका दामोदर आचार्यले १९६८ मत ल्याएर पछ्याइरहेका छन्।
प्रदेश नम्बर पाँचका नगरपालिकामा पनि एमालेकै अग्रता देखिन्छ। यहाँका पाँच नगरपालिकामा एमालेको अग्रता छ।
रुपन्देहीमा ५ नगरपालिकामध्ये सैनामैना र तिलोत्तमा नगरपालिकामा एमालेको अग्रता छ। सैनामैना नगरपालिकाको मेयरमा एमालेका चित्रबहादुर कार्की (केसी) को ५९३१ मत आएको छ। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार फणिन्द्र शर्मा वाग्लेले ४३५३ मत ल्याएका छन्।
त्यस्तै, तिलोत्तमा नगरपालिकाको मेयरमा एमालेका वासुदेव घिमिरेले ४९६७ मत ल्याएका छन् भने उनलाई कांग्रेसका रामकृष्ण खाँडले ४४५७ मतसहित पछ्याइरहेका छन्।
पाल्पाको तानसेन नगरपालिकामा पनि एमाले मेयर उम्मेदवार अशोककुमार शाहीले ७०२७ मत ल्याउँदा कांग्रेसका अजयमान कर्माचार्यले ५१३८ ले मत ल्याएका छन्। स्वर्गद्वारी नगरपालिकामा पनि एमालेकै अग्रता छ। यहाँ एमालेका नेत्रबहादुर रोकायाले २९०३ मत ल्याएका छन् भने राजमोसँग तालमेल गरेको माओवादी केन्द्रका वीरबहादुर पुनले २२२७ मत पाएका छन्।
गुल्मीको रेसुंगा नगरपालिकामा भने एमाले उम्मेदवार डिल्लीराज भुसालले जित हात पारिसकेका छन्।
प्रदेश पाँचको रुपन्देहीका देवदह र सिद्धार्थ नगरपालिकामा कांग्रेस अघि छ। लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपा समर्थित स्वतन्त्र उम्मेदवारको अग्रता छ।
देवदह नगरपालिकाको मेयरमा कांग्रेसका हिराबहादुर खत्रीको २८८१ मत आउँदा एमालेका टिकाराम चापागाईंको २४९२ मत आएको छ। सिद्धार्थ नगरपालिकामा कांग्रेसका मातृकाप्रसाद यादवले १५२९ र एमालेका हरि अधिकारीले १४३० मत ल्याएका छन्।
प्रदेश पाँचकै दाङ जिल्लाको एकमात्र नगरपालिका लमहीमा कांग्रेसकै मेयर उम्मेदवारले अग्रता लिइरहेका छन्। कांग्रेसका जोगराज अधिकारीले अहिलेसम्म प्राप्त मत १६८५ छ। यहाँ एमाले उम्मेदवार कूलबहादुर केसीले १३५४ मतका साथ उनलाई पछ्याइरहेका छन्।
बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा पनि कांग्रेसकै मेयर उम्मेदवारको अग्रता छ। यहाँ कांग्रेसका भानुभक्त भट्टराईको १६१२ मत आएको छ भने उनका निकट प्रतिद्वन्द्वी एमालेका लुटबहादुर रावतको मत १२५१ छ।