वैकल्पिक राजनीतिक शक्तिका रूपमा काठमाडौं र ललितपुर महानगरपालिकामा उत्साहजनक मत ल्याएको साझा पार्टीले इटहरी उपमहानगरपालिकामा भने निराश बनाएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा अहिलेसम्म ७ हजार मत गन्दा साझा पार्टीकी मेयर उम्मेदवार तारा काफ्लेले जम्मा ३० मत ल्याएकी छन्। मेयरमा मात्र होइन, उपमेयरमा पनि साझाका उम्मेदवारले पाएको मत एकदमै कम छ। यहाँका उपमेयर प्रकाशचन्द्र परियारले पनि ३० मत नै पाएका छन्।
अहिलेसम्मको मत गणनाअनुसार नेपाली कांग्रेसका रोहित प्रसाईंले ३३१२ मत ल्याएर अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका द्धारिकालाल चौधरीले २९७६ मत ल्याएर पछ्याइरहेका छन्।
यहाँ माओवादी केन्द्रका हरिमाया जिमी भने निकै पछाडि छिन्। उनले ३९४ मत ल्याएकी छन्।
त्यस्तै, उपमेयरमा एमालेकी लक्ष्मी गौतमले ३३७७ मत ल्याएर अग्रता लिएकी छन्। उनलाई नेपाली कांग्रेसकी विमला ढकालले ३२८१ मत ल्याएर पछ्याइरहेकी छन्।