रुपन्देहीको सिद्धार्थनगर–३को चुनावी परिणामले यतिबेला चर्चा पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको पकड मानिएको सो वडाको वडाध्यक्षमा नेकपा एमालेका उमेदवार थानेश्वर पौडेलले विजयी भएपछि यसको चर्चा भएको हो।
यो राप्रपाका संसदीय दलका नेता तथा पूर्वमन्त्री दीपक बोहरा वासिन्दा भएको वडा हो। त्यतिमात्र होइन सिद्धार्थनगरमा राप्रपाका मेयरका प्रत्यासी सागर प्रताप राणा, उपमेयरकी प्रत्यासी रमिता थापा मगर, पूर्वजिल्ला सभापति स्वर्गिय छत्रपति सिंह पनि यही वडाका बासिन्दा हुन्।
पौडेल सिद्धार्थनगर–३ मा खसेको २ हजार ७ सय ४१ मतमध्ये ६ सय ६३ मत प्राप्त गरी विजयी भएका हुन्।
पौडेलका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका कलामुद्धिन मुसलमानले ५ सय ६९ मत पाए।
राप्रपाका उमेदवार राजेश ढकालले ५ सय १३ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो। सो वडामा सदस्यहरूमा एमालेकै मोलहु गुप्ता र बेलकुमारी निरन्जनले विजयी भए भने खुला सदस्यमा राप्रपाका नारायण सापकोटा विजयी भए।
पन्चायतकालमा मात्रै नभएर बहुदल र लोकतन्त्रपछि पनि बारम्बार मन्त्री बनेका राप्रपाका बरिष्ठ उपाध्यक्ष बोहरा, यसअघि ३ पटक मेयर जितेर हाल पुनः मेयरका प्रत्यासी रहेका सागर राणा र नगरको मेयर तथा जिल्ला विकास समितिको सभापति जितेका स्वर्गिय छत्रपति सिंहको वडामा एमालेले जित्दा धेरैलाई आश्चार्य लागेको छ।