सोमबार बिहान ११ बजेसम्म कुल ३३४ स्थानीय तहमध्ये २४६ को मतपरिणाम आइसकेको छ।
हालसम्म एमालेले २३ नगरपालिका र ८१ गाउँपालिका गरी १०४ स्थानीय तहमा जित हासिल गरेको छ। त्यस्तै ४१ स्थानमा उसको अग्रता कायम छ।
एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले हालसम्म ३४ नगरपालिका र ६३ गाउँपालिका गरी ९७ स्थानमा जित्न सफल भएको छ। उसले ३२ स्थानमा अग्रता लिइरहेको छ।
नेकपा माओवादी केन्द्रले हालसम्म ५ नगरपालिका र २६ गाउँपालिकासहित ३१ स्थानमा जित हासिल गरेको छ। उसले ९ स्थानमा अग्रता लिइरहेको छ।
नतिजा आएका २४६ मध्ये संघीय समाजवादी फोरमले ६ गाउँपालिका जितेको छ। त्यस्तै, राष्ट्रिय जनमोर्चाले प्यूठानको झिमरूक र मल्लरानी गाउँपालिकामा जित हासिल गरेको छ।
फोरम लोकतान्त्रिक सुनसरीको दुहवी नगरपालिका र नवलपरासीको सरावल गाउँपालिका, सुनसरीकै वर्जु गाउँपालिका र कैलालीको जानकी गाउँपालिका गरी चार स्थानमा विजयी भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि झापाको कचनकवल गाउँपालिकाबाट दोस्रो चरणको निर्वाचनमा आफ्नो खाता खोलेको छ। पहिलो चरणमा पनि उसले धादिङको रुबीभ्यालीमा मात्र जितेको थियो।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निसार अहमद खाँ विजयी भएका छन्।