नेकपा एमालेले अग्रता लिइरहेको धरान उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ।
वडा नम्बर ८ को मतगणना सकिएर ९, १० र ११ को एकैचोटि गर्ने भनेपछि नेपाली कांग्रेस लगायत अन्य दलका प्रतिनिधिले विरोध गरेका थिए। यही कारणले यहाँ आधा घन्टादेखि मतगणना स्थगित छ। कांग्रेस लगायत अन्य दलका प्रतिनिधिले मतगणना क्रममा 'एमालेकरण भयो' भन्दै विरोध जनाएका थिए।
यो समस्या सुल्झाउन निर्वाचन कार्यालयले सर्वदलीय बैठक डाक्ने कोशिस गरिरहेको स्रोतले जानकारी दियो।
गणना स्थगित हुनुअघिसम्म यहाँ मेयरमा एमालेका तारा सुब्बा ७०८२ मत ल्याएर अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका तिलक राईले ५८८२ मतका साथ पछ्याइरहेका छन्। माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा ३४३५ मतका साथ तेस्रो स्थानमा छन्।
त्यस्तै, उपमेयरमा एमालेकी मञ्जु भण्डारी सुवेदी ७२७६ मत ल्याएर अग्रस्थानमा छिन् भने नेपाली कांग्रेसकी श्यामा रेग्मी ५६८० मतका साथ उनलाई पछ्याइरहेकी छन्। माओवादी केन्द्रकी पारस काङवाङ २२३७ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।