मोरङको पथरी शनिश्चरे नगरपालिकामा एउटा वडाको मत गन्ने क्रममा उत्पन्न विवादका कारण गणना स्थगित भएको छ।
वडा नम्बर ९ को मत गन्दै गर्दा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारले ८ मतको अग्रता लिएपछि नेपाली कांग्रेस लगायत अन्य दलका प्रतिनिधिले विरोध जनाएका थिए। यही विवादबीच निर्वाचन कार्यालयले एमाले उम्मेदवारलाई विजयी घोषित गरेको थियो। एमालेबाहेक अन्य सबै दलले मतगणना स्थगन लगायत माग राख्दै विरोध जनाएका थिए।
निर्वाचन अधिकृत र सुरक्षाकर्मीसमेत एमालेको प्रभावमा रहेको भन्दै तिनलाई फेर्नसमेत माग गरिएको छ।
पथरी नगरपालिकाका १० वडामध्ये ६ वटाको मतगणना सकिएको छ भने चार वटाको बाँकी छ।
पथरीको पछिल्लो मतपरिणामअनुसार मेयरमा नेकपा एमालेका दिलिपकुमार राईले ६१६५ मत ल्याएर अग्रता लिइरहेका छन्। उनलाई माओवादी केन्द्रका जहरमान मेन्याङ्बो (लिम्बू) ले ४७६८ मत ल्याएर पछ्याइरहेका छन्। नेपाली कांग्रेसका गणेशकुमार खड्का ४०३० मतका साथ तेस्रो स्थानमा छन्।
उपमेयरमा एमालेकी यमुना विष्ट ६८१८ मत ल्याएर अग्रता लिएकी छन् भने उनलाई नेपाली कांग्रेसकी प्रेमला राईले ३९१२ मतका साथ पछ्याइरहेकी छन्। माओवादीकी शंखमाया गौतम ३७५९ मत ल्याएर तेस्रो स्थानमा छिन्।