नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा कांग्रेस नराम्रोसंग पराजित भएको छ।
सिटौला झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। यो निर्वाचन क्षेत्रमा भद्रपुर नगरपालिका, कचनकबल र हल्दिबारी गाउँपालिका छन्।
कचनकबल र हल्दिबारीको निर्वाचन परिणाम आइसकेको छ। यी दुवै गाविसमा राप्रपाले जितेको छ। कचनकवलमा कांग्रेस दोस्रो स्थानमा आएको छ भने हल्दिबारीमा तेस्रो स्थानमा झरेको छ।
भद्रपुर नगरपालिकाको जारी मतगणनामा सुरु देखि नै एमालेको अग्रता छ। पछिल्लो मतगणना अनुसार मेयरमा एमालेका उम्मेदवारले ४ हजार ७ सय २६ मत ल्याउँदा कांग्रेसका उम्मेदवारको ३ हजार ४ सय ४७ मत छ।माओवादी केन्द्रले पनि यहाँ उल्लेख्य मत ल्याएको छ। माओवादीका उम्मेदवारले २ हजार ८ सय ५८ मत ल्याएका छन्।
भद्रपुर नगरपालिकामा एमालेलाई उछिनेर कांग्रेसले जित्ने सम्भावना अब कम भैसकेको कांग्रेसकै स्थानीय नेताहरु बताउँछन्।
संसदीय निर्वाचन आउन ६ महिना भन्दा कम समयमा भएको स्थानीय निर्वाचनमा कांग्रेसको पराजयले नेता सिटौलालाई अप्ठेरोमा पारेको छ।
पछिल्लो संविधानसभाको निर्वाचनमा पनि सिटौलालाई राप्रपाका राजेन्द्र लिङ्गदेनले कडा चुनौति दिएका थिए। राप्रपाका यूवा नेता लिङ्गदेन यो क्षेत्रमा लोकप्रिय छन्।
सिटौलाका लागि यो क्षेत्र सुरु देखि नै अस्थिर रहँदै आएको छ। २०४८ सालकोमा उनले एमालेका द्रोर्णाचार्य क्षेत्रीसंग संसदको चुनाव हारेका थिए। क्षेत्रीको मृत्यु पछि भएको उपनिर्वाचन सिटौलाले जिते।
त्यसपछि २० ६४ को पहिलो संविधानसभा चुनावमा गृहमन्त्री रहेका बेला उनी माओवादीका उम्मेदवारसंग पराजित भएका थिए।