स्थानीय निर्वाचनमा यसअघि दलका गढ मानिएका क्षेत्रमा अर्कै दलले चुनाव जितेका छन्। पार्टीका गढमात्र होइन केन्द्रीय राजनीतिमा प्रभावशाली मानिएका नेताका वडामा पनि प्रतिष्पर्धी दलले चुनाव जितेका छन्। यसको एक उदाहरण हो, रुपन्देहीको तिलोत्तमा नगरपालिका।
यो नगरमा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणको वडामा एमाले विजयी भएको छ भने एमाले उपमहासचिव घनश्याम भूषालको वडामा कांग्रेस विजयी भएको छ।
तिलोत्तमा नगरमा खांणले आफ्नो वडामा मात्र हारेका छैनन् मेयर उम्मेदवार बनेका उनका भाइ रामकृष्ण खांण पनि पराजित भएका छन्। बालकृष्णले पछिल्लो संविधान सभा चुनाव जितेको रुपेन्देहीको क्षेत्र नम्बर ३ मा कांग्रेसले एउटा पनि स्थानीय तहको प्रमुख जित्न सकेनन्।
खांण दाजुभाइले मतदान गरेको तिलोत्तमा नगरपालिका वडा नं ८ को अध्यक्षमा एमालेका कृष्ण पौडेलले १३ सय १ मत ल्याउँदा नगर सभापति समेत रहेका कांग्रेसका अध्यक्ष उम्मेदवार हरिलाल पाण्डेलाई ८ सय ९४ मत परेको छ।
खांणको बलियो पकड मानिएका तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाका सबैको प्रमुखमा एमाले विजयी भएको छ।
तिलोत्तमामा नगरमा कांग्रेसले जनमुक्ति पार्टीसँग तालमेल गरेको थियो। तर त्यो तालमेलले पनि कांग्रेसलाई सफलता दिन सकेन। साबिक शंकरनगर, आनन्दवन, गंगोलिया, करहिया, मक्रहर र टिकुलीगढ समावेश गरी बनाईएको तिलोत्तमा नगरपालिकामा ४७ हजार २ सय २८ मत खसेको थियो। १७ वटा वडा रहेको उक्त नगरपालिकामा वडा नं. ९, १०, १६ र १७ चारवटा वडा जनमुक्ति र कांग्रेस गठबन्धनले जितेको छ भने मेयर र उपमेयरसहित बाँकी १३ वडा एमाले प्यानलले जितेको छ।
उता नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालको वडामा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। तिलोत्तमा वडा नम्बर ९ एमालेका उपमहासचिव घनश्याम भुसालले मतदान गरेको वडा हो। त्यहाँ नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ।