लामो समय संघीय समाजवादी फोरमको राजनीति गरेका रजतप्रताप शाहलाई पार्टीले कपिलवस्तुको कृष्णनगरको मेयरमा टिकट दिएन। 'हातले समातेको मसाल' चिन्हको टिकट पाए संघीय समाजवादी फोरमका सांसद अभिषेकप्रताप शाहका काका अभयप्रताप शाहले।
चुनाव लड्ने तयारी गरिरहेका रजतप्रताप असमञ्जमा परे। उनी विजय गच्छार नेतृत्वको फोरम लोकतान्त्रिक प्रवेश गरे। तर लोकतान्त्रिक फोरमले पनि उनलाई पत्याएन। फोरम लोकतान्त्रिकले टिकट किफायतुल्लाह खाँलाई दियो।
दुबै पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिए। २०३८ सालमै सहायक मन्त्री भएका बुवा राघवेन्द्रप्रताप शाह र जिल्लाको राजनीति गरेका दाजु गौरवप्रताप शाहको बिँडो थाम्दै राजनीतिमा उत्रिएका रजतप्रताप चुनावी मैदानमा उत्रिए। चुनाव चिन्ह पाए - जर्किन।
स्वतन्त्र उम्मेद्वारी दिएपछि रजतप्रतापमाथि आरोप लाग्यो। उनीसँग भारतीय पासपोर्ट छ। उनी नेपाली नागरिक नै होइनन्।
फोरम सांसद अभिषेकप्रताप शाहले सेतोपाटीसँग भने - उहाँ भारतमा टिकट नपाएपछि यता चुनाव लड्न आउनुभएको हो।
तर रजतप्रताप आफूमाथि लागेको आरोप निराधार रहेको तर्क गर्छन्। 'जनताको मतले उनीहरुलाई जवाफ दिएको छ', मेयर निर्वाचित भएपछि उनले सेतोपाटीसँग भने, 'उनीहरुको जमानत जफत भएको छ।'
रजतप्रताप ७१७८ मतका साथ कृष्णननगरको मेयरमा विजयी भएका छन्। उनका प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका शिवप्रसाद कलवारले ३०८० मत ल्याए। उपमेयर भने माओवादी केन्द्रकी सवनम खातुनले जितिन्।
रजतप्रतापलाई टिकट नदिएपछि टिकट पाएका संघीय समाजवादी फोरमका अभयप्रताप शाहले १५१२ मत प्राप्त गरे। अनि फोरम लोकतान्त्रिकका खाँले १२७ मत।
हजुरबुवाको पालादेखि परिवार राजनीतिमा सक्रिय रहेको र साखको मत आएको रजतप्रतापको तर्क छ। कपिलवस्तुको कृष्णनगरमा रजतप्रतापको परिवारको 'बहादुरगञ्ज' भवन छ। स्थानीय समस्या समाधानदेखि केन्द्रीय राजनीतिमा प्रभाव राख्ने बहादुरगञ्ज भवनबाट शाहको परिवारले राजनीति गर्दै आएको छ।
बुवाको इमान्दार छवि र विकास प्रेमी परिवार भएकै कारण आफूले निर्वाचनमा जीत हात पारेको रजतप्रतापले बताए। 'म पनि दुई/तीन वर्षदेखि यहाँ जनताको सेवा गरिरहेको छु', उनले भने, 'विकासको राजनीति अगाडि बढाउँछु।'
रतजप्रतापले अब विकास र कृष्णनगरलाई आदर्शनगर बनाउन लाग्ने बताए। 'मेरो लक्ष्य भ्रष्टाचार सखाप पार्ने हो। अनि विकास बजेट आएको छ स्थानीय तहमा त्यसबाट स्वास्थ्य र शिक्षाको गुणस्तर सुधार्ने हो', उनले भने।
कृष्णनगरमा मेयर जितेका रजतप्रतापलाई राजनीतिक दलबाट अफर आइरहेका छन्। मधेस केन्द्रीत दलबाट धोका भोगेका उनी अब मधेस केन्द्रीत दलबाट राजनीति नगर्ने बताउँछन्। 'गएँ भने कुनै राष्ट्रिय पार्टीमा प्रवेश गर्छु', उनले भने, 'मधेसी पार्टीमा फर्कदैँन।'
उनले पार्टी प्रवेशका लागि एमाले र कांग्रेसका केन्द्रीय नेताको फोन आइरहेको बताए।
'हामी यहाँ बैठक बसेर निर्णय गर्छौँ', उनले भने।