उच्च अदालत दीपायलले बैतडीको दशरथचन्द नगरपालिकाका नवनिर्वाचित मेयरलाई असार २९ गतेसम्म काम नगर्न अन्तरकालीन आदेश दिएको छ।
उच्च अदालतको महेन्द्रनगर इजलासले बुधबार मेयरमा निर्वाचित नरेन्द्रसिंह थापालाई २९ गतेसम्म काम नगर्न आदेश दिएको हो। अदालतले २९ गते दुबै पक्षका छलफलका लागि बोलाएको छ। सो छलफलपछि अन्तरकालीन आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारेमा अदालतले फेरि निर्णय गर्नेछ।
असार १४ गते भएको निर्वाचनको मत परिणाममा आफू ६२ मतले पराजित भएपछि राप्रपाका मेयर उम्मेदवार पुष्करराज जोशीले मतगणनामा धाँधली भएको भन्दै उच्च अदालतमा रिट हालेका थिए।
राप्रपा बैतडीले चुनावी परिणाम स्वीकार नगर्ने घोषणा गरेको छ। मतगणनामा संलग्न केही कर्मचारी र प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुको मिलेमतोबाट आफ्नो विपक्षमा एकतर्फी रुपमा मतपरिणाम घोषणा गरिएको राप्रपाको आरोप छ।