सीमामा भारतसँगको तनाव बढ्दै गएपछि चिनियाँ सञ्चारमाध्यमले सिक्किमको स्वतन्त्रताबारे चिनियाँ नेतृत्वले पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ‘पिपुल्स डेली’सँग आवद्ध ‘ग्लोबल टाइम्स’ मा प्रकाशित सम्पादकीयमा चीनले भुटान र सिक्किमको अवस्था बारे पुनर्विचार गर्न सक्ने उल्लेख गरिएको छ।
पहिला सार्वभौम राष्ट्र रहेको सिक्किम सन् १९७५ मा भारतमा बिलय भएको थियो। सिक्किम भारतमा मिसिएको चीनले सन् २००३ मा मात्र मान्यता दिएको थियो।
ग्लोबल टाइम्सले भारतले यसअघि चीनसँग दलाई लामाको कार्ड खेल्दै आएको भएपनि अब त्यो कार्ड काम नलाग्ने भइसकेकाले चीनले सिक्किमको अवस्थाबारे नयाँ अडान लिनु पर्ने बताएको छ।
पत्रिकाले एउटा ठूलो चिनियाँ समुदायमा अहिले पनि सिक्किमलाई स्वतन्त्र बनाउन सहयोग गर्नुपर्ने भावना रहेको उल्लेख गर्दै यदि चिनियाँ नेतृत्वले सिक्किमको स्वतन्त्रताबारे पुनर्विचार गर्ने निर्णय गरे सो संवेदनशील भावना सिकिक्ममा पनि फैलने र त्यो नै नयाँदिल्लीसँग ‘डिल’ गर्ने शक्तिशाली कार्ड बन्ने बताएको छ। ‘केही निश्चित अवस्थामा भुटान र सिक्किममा भारतविरोधी भावना बढ्नेछ र त्यसले अहिले नै समस्याग्रस्त भारतको उत्तरपूर्वी क्षेत्रमा नयाँ भूराजनीति अवस्था निर्माण गर्नेछ’, सम्पादकीयमा भनिएको छ।
भारतले सार्वभौम राष्ट्र भएपनि भुटानलाई अहिलेसम्म चीन र संयुक्त राष्ट्रसंघका अन्य स्थायी सदस्यसँग दौत्य सम्बन्ध कायम गर्न नदिएइएको पनि सम्पादकीयमा उल्लेख छ। ‘असमान सन्धीका आडमा भारतले भुटानको सार्वभौम कुटनीतिलाई खतरामा राखेको छ र उसको राष्ट्रिय सुरक्षालाई नियन्त्रणमा लिएको छ’, सम्पादकीयमा भनिएको छ, ‘भारतले यही नीति सन् पनि १९७० को दशकमा सिक्किममा पनि अपनाएको थियो।’
ग्लोबल टाइम्सले आफ्नो स्वतन्त्रतापछि भारतले बेलायतले अपनाएको क्रुर औपनिवेशिक नीति नै साना हिमाली राष्ट्रहरुमा लागु गर्दै आएको बताएको छ।
‘अहिले फेरि भुटानको सार्वभौमिकता रक्षा गर्ने भन्दै भारतले चिनियाँ पक्षले आफ्नो भूमिमा बनाइरहेको सडकमा अवरोध गरेको छ’, सम्पादकीयमा भनिएको छ, ‘यो सानो हिमाली राज्यमा नयाँ दिल्लीको दादागिरीबारे अब विश्व समुदायले चासो राख्नै पर्छ। भुटानलाई भारतीय दबाबबाट जोगाउनु पर्छ।’
पत्रिकाले चीनले विश्व समुदायको नेतृत्व गर्दै भुटानको कुटनीतिक सार्वभौमिकता र राष्ट्रिय सुरक्षालाई पुनस्र्थापना गरी जति सक्दो चाँडो उसँग दौत्य सम्बन्ध कायम गर्नुपर्ने सुझाव पनि दिएको छ।
'वान बेल्ट वान रोड' परियोजना अन्तर्गत चीनले सिक्किमसँग सीमा जोडिएको क्षेत्रमा सडक निर्माण गरेपछि चीनको सो परियोजनामा सहभागी नभएको भारतले त्यसलाई रोक्न खोजेको चिनियाँ पक्षको अारोप छ। भारतले भने सीमामा त्यस्तो सडक बनाउँदा भारतको सुरक्षामा खतरा हुने बताउँदै अाएको छ।