नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा धेरै आर्थिक चलखेल भएको भन्दै सुशासनका लागि खर्चिलो चुनाव प्रणालीको अन्त्य हुनुपर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सत्ताको नेतृत्व गरेको दलका नेता पौडेलले पैसाकै बलमा चुनाव लड्ने पद्धति विकास हुँदै जाँदा त्यसले मुलुकको विकासमा अवरोध पुग्ने बताउँदै त्यस किसिमको पैसाको चलखेललाई रोक्नुपर्ने बताएका हुन् ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले निर्वाचनमा हुने अवैध पैसाको चलखेलले देशलाई भ्रष्टाचारमा धकेल्ने उल्लेख गरे ।
यसका साथै उनले राजधानीमा दैनिक बसोबास बढ्दै गएको र गाउँ रित्तो हुने क्रम बढ्दै गएको भन्दै भूगोल र जनसंख्याको बसोबासको अवस्था असन्तुलित हँुदै गएकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले राजधानी बाहिर पनि राजधानीकै जस्तो गुणस्तरीय स्वास्थ्य उपचार सेवा, शिक्षा र रोजगारीको बन्दोबस्त गरी राजधानीको ओभर लोड हटाउनुपर्नेमा जोड दिए ।