दोस्रो चरणमा निर्वाचन भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये शुक्रबार बिहानसम्म ३ सय २५ ठाउँको अन्तिम परिणाम सार्वजनिक भएको छ। मतपरिणाम सार्वजनिक भएकामध्ये १४६ स्थानमा एमालेले जितेको छ भने बाँकी ५ स्थानीय तहमा उसको अग्रता छ।
यसअघि पहिलो चरणमा चुनाव भएका ३४ जिल्लाका २८३ स्थानीय तहमध्ये एमालेले १२५ मा जित हात पारको थियो।
गएको संविधान सभा चुनावमा दोस्रो दल भएको एमाले स्थानीय चुनावमा भने अहिलेसम्म दुई महानगर, ५ उपमहानगरसहित २ सय ७१ स्थानीय तह जितेर पहिलो पार्टीमात्र बनेको छैन, संविधान सभामा पहिलो दल बनेको कांग्रेसले जितेका जिल्लामा कांग्रेसलाई पछारेर परिणाम आफ्नो पक्षमा पार्न सफल भएको छ।
संविधान सभामा कांग्रेसले एकलौटी जितेका कञ्चनपुर र दाङसहित काठमाडौं, रुपन्देही, स्याङ्जा, बाग्लुङ, गुल्मी र उदयपुरमा एमाले पहिलो पार्टी बनेको छ।
दोस्रो संविधान सभामा कञ्चनपुरका ४ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हात पारेकोमा थियो। ७ नगरसहित २ गाउँपालिका रहेको कञ्चनपुरको स्थानीय तहमा नेकपा एमालेले बेदकोट र कृष्णपुर नगरपालिका र बेलडाँडी गाउँपालिका जितेको छ। यहाँ कांग्रेसले दुई नगरपालिका मात्र जितेको छ।
जिल्लाका पुनर्वास र भीमदत्त नगरपालिकाको मतपरिणाम आउन बाँकी छ।
दाङका पाँच निर्वाचन क्षेत्रमध्ये दोस्रो संविधान सभामा सबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको थियो। दाङका दुई उपमहानगर, १ नगरसहित १० स्थानीय तहमध्ये दुबै उपमहानगर र १ नगर एमालेका पोल्टामा परेका छन्। तीन गाउँपालिकामा पनि एमालेले जित हात पारको छ। संविधान सभामा पाँचै निर्वाचन क्षेत्र जितेको कांग्रेस स्थानीय चुनावमा तीन गाउँपालिकामा खुम्चिएको छ।
रुपन्देहीका सात निर्वाचन क्षेत्रमध्ये संविधान सभामा एमालेले एउटा मात्र जितेको थियो भने कांग्रेस तीन वटामा विजयी भएको थियो। स्थानीय निर्वाचनमा बुटवल उपमहानगरसहित १६ स्थानीय तहमध्ये एमालेले बुटवल उपमहानगर, तीन नगर र तीन गाउँपालिकामा जित हात पारको छ। कांग्रेसले १ नगर र एक गाउँपालिका मात्र जितेको छ।
गुल्मीका तीन निर्वाचन क्षेत्रमध्ये संविधान सभामा एमालेले एक क्षेत्र मात्र जितेको थियो। सो जिल्लाका १२ स्थानीय तहमध्ये एमालेले रेसुंगा नगरपालिकासहित सात स्थानीय तह जितेको छ भने कांग्रेसले ४ गाउँपालिका जितेको छ।
गएको संविधान सभा चुनावमा उदयपुरका तीनमध्ये कांग्रेस दुई निर्वाचन क्षेत्रमा विजयी भएको थियो। अहिले उदयपुरका ८ स्थानीय तहमध्ये तीन नगरसहित ६ मा एमालेले जितको छ। कांग्रेसले चौदण्डीगढी नगरमा मात्र जित हासिल गर्न सकेको छ।
यसअघि पहिलो चरणमा निर्वाचन भएका जिल्लामा पनि एमालेले कांग्रेसलाई ठूलो धक्का दिएको थियो।
संविधान सभामा काठमाडौं १० मध्ये ८ निर्वाचन क्षेत्र जितेको कांग्रेस काठमाडौं महानगरमा एमालेसँग फराकिलो अन्तरले पराजित भयो। एमालेले महानगरसहित आसपासका १० मध्ये ६ नगरपालिकामा पनि विजयी बन्यो। कांग्रेसले ४ नगरमा चित्त बुझाउनु पर्यो।
दोस्रो संविधानमा सभा तीन वटै निर्वाचन क्षेत्र जित्न नसकेको बाग्लुङमा एमालेले २ नगरसहित २ गाउँपालिकामा जित हात पार्यो। बाग्लुङमा ४ नगरपालिकासहित १० स्थानीय तह छन्।
स्याङ्जाका तीन निर्वाचन क्षेत्रमध्ये २ मा कांग्रेस विजयी भएको थियो भने एमालेले एक निर्वाचन क्षेत्र जितेको थियो। स्थानीय चुनावमा ११ तहमध्ये पुतलीबजार, गल्याङ नगरपालिकासहित ७ स्थानीय तह एमालेले जित्यो भने कांग्रेसले ४ स्थानीय तहमा चित्त बुझायो।
कांग्रेसले जितेका ठाउँमा मात्र होइन माओवादीले जितेका ठाउँमा पनि यसपालि एमालेले जितको सुरुवात गरको छ।
संविधान सभामा रोल्पाका दुबै क्षेत्र माओवादीले जितेको थियो। अहिले त्रिवेणी नगरसहित २ स्थानीय तहमा एमालेले जित हात पारेको छ।
एमाले नेता शंकर पोखरेल अहिलेको जित आफूहरुले अपेक्षा गरेभन्दा कम भएको बताउँछन्। ‘हामीले त यो भन्दा धेरै अपेक्षा गरेका थियौं, सत्तारुढ दलले गरेको गठबन्धनका कारण सोचेजस्तो नतिजा आउन सकेन,’ पोखरेलले भने।
उनले अघिल्लो संविधान सभा चुनावमा एमाले पराजित भएका जिल्लामा यसपालि विजय हुनुमा प्रमुख तीन कारण रहेको बताए। ‘पहिलो कुरा त राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका नै हो’, पोखरेलले भने, ‘दोस्रो हामीले सबै ठाउँमा पार्टीको आन्तरिक एकतालाई पनि कायम राख्यौ। तेस्रो अरु दलले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाले दिक्क भएर जनताले एमालेलाई भोट हाले।’
अब हुने प्रदेश र संघीय निर्वाचनमा एमालेले योभन्दा राम्रो नतिजा ल्याउने उनको दाबी छ। ‘अहिले पो सत्तारुढ दलले एकलाई प्रमुख, अर्कोलाई उपप्रमुख, अर्कोलाई वडाध्यक्ष दिएर एमालेविरुद्ध तालमेल गरेका छन्, पछि त त्यस्तो तालमेल हुन्न,’ पोखरेलले भने, ‘सत्तारुढ दलको गठबन्धन नभएपछि प्रदेश र संघीय चुनावमा हामीले स्पष्ट बहुमत ल्याउँछौं।’