विराटनगरको परिचय महानगर बन्नुअघि नै पूर्ण थियो।
यो पुरानो सहर पूर्वी नेपालको मात्र नभएर देशकै आर्थिक राजधानी हो। र, त्योभन्दा बढी नेपाली राजनीतिमा सबभन्दा बढी प्रभाव पार्दै आएको कोइराला परिवारको गृहनगर।
सायद त्यही भएर, ३३४ स्थानीय तहका लागि भएको दोस्रो चरणको निर्वाचनमा सबैको चासो विराटनगरमा केन्द्रित थियो। विराटनगरको मेयर हत्याउन सबै प्रमुख दलले सकेको जोडबल गरेका थिए। माओवादी केन्द्र संघीय समाजवादी फोरमसँग र एमाले नेपाल लोकतान्त्रिक फोरमसँग तालमेल गरेर कांग्रेसविरुद्ध चुनावी मैदानमा आएका थिए। आखिरमा आफूविरुद्धका दुवै गठबन्धनलाई ठूलो मतान्तरले पराजित गर्दै कांग्रेसका भीम पराजुली विराटनगर महानगरको मेयर चुनिएका छन्।
शनिबार मध्यरात सार्वजनिक भएको विराटनगरको अन्तिम मत परिणाममा भीमले २३०३१ मत पाए भने उनका निकट प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७३२१ मत पाए।
उपमेयरमा कांग्रेसकै इन्दिरा कार्की २०१८६ मत पाएर विजयी भइन्। उनकी निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रकी नमिता न्यौपानेले ११५२४ मत ल्याइन्।
विद्यार्थी राजनीतिबाट ६ वर्षअघि कांग्रेसको राजनीतिमा होमिएका भीमले त्यतिबेलै मनमनै योजना बनाइसकेका थिए– विराटनगरको मेयर बन्ने। उपमहानगरपालिका रहेको विराटनगरमा मेयर बन्ने सपना बुनेका भीमका लागि महानगर बनेपछिको मेयर पदले झनै लोभ्याएको थियो।
भीमले यसपालि कांग्रेसमा लामो रस्साकस्सीपछि मात्र मेयरको टिकट पाएका थिए। कोइराला परिवारको नजिक भएका कारण उनी विराटनगरको मेयर रोजाइमा परेका हुन्। यसको कारण के भने, कांग्रेस मोरङको राजनीति पार्टी सभापति शेरबहादुर देउवाको हातमा छ। आफ्ना र निकटका निम्ति मरिमेट्ने देउवाको राजनीतिक स्वभावका अघि विराटनगरको टिकट निकै पेचिलो बनेको थियो।
गएको महाधिवेशनमा कोइराला परिवारबाट राजनीति आफ्नो पक्षमा ल्याएका देउवा यसपटकको चुनावमा आफ्नै पक्षका उम्मेदवार उठाउन चाहन्थे। कोइराला परिवारबाट महामन्त्री सशांक कोइराला, शेखर तथा रामचन्द्र पौडेलहरूले भीमको पक्ष लिएका थिए।
उनै भीमले कांग्रेसलाई महानगरमा दोस्रो विजयी बनाएका छन्।
‘यसअघि पहिलो चरणको निर्वाचनमा कांग्रेसले ललितपुर महानगरमा नतिजा कांग्रेसको पक्षमा आएको थियो, दोस्रो चरणको एक मात्र महानगरमा पनि लोकप्रिय व्यक्तिलाई महानगरको मेयर पदमा उठाउनुपर्छ भन्ने दबाब पार्टीमा गएको थियो,’ भीम भन्छन्।
पार्टी राजनीतिमा आएदेखि नै उनी विराटनगरभरिका युवा, पार्टीका युवा, जनसमुदायमाझ लोकप्रिय बनेका थिए। यसको कारण के भने, उनी सबैका मर्दापर्दाका साथी हुन्थे। जहाँ, जसलाई जे पथ्र्याे भीम पुगेकै हुन्थे। राजनीति गर्नेहरू हत्तपत्त जनताको घरदैलोमा पुग्दैनन्, तर भीम सधैं जनताको घर–घर पुगेका हुन्थे। उनको यस्तो सक्रियताबाट धेरै जनता प्रभावित थिए।
सहयोगी स्वभावले पार्टीमा उनको लोकप्रियता झनै चुलिँदै गयो। उनी विराटनगर उपमहानगरमा दोस्रोपटक नगर सभापति निवार्चित भए। क्षमता र आत्मविश्वासले भ्याउँदा एक्लै चुनाव उठ्न कस्सिने भीमको आफ्नै किसिमको अर्को स्वभाव हो। यसपालि त्यही आत्मविश्वास काम लागेको उनी बताउँछन्।
मेयर जित्नुमा निष्ठा र इमानदारिता प्रमुख कारण रहेको उनी बताउँछन्। त्यसलाई व्यवहारमै देखाउन उनले पद ग्रहण गरेपछि सय दिने अभियान चलाउने भएका छन्। उनको पहिलो प्राथमिकता छ, विराटनगरलाई भ्रष्टाचारमुक्त सहर बनाउने। आजका दिनसम्म आफूले भ्रष्टाचारको विरोध गरेकाले भ्रष्टाचार निर्मूल पार्नु आफ्नो पहिलो प्राथमिकता रहेको उनी बताउँछन्।
विराटनगरका कुनै पनि सडक (अपवादबाहेक) नभत्किएको छैन। धूलो नउडेको ठाउँ छैन। विराटनगरका सडक पिच गर्ने विकासे एजेन्डा छ। सबै सडक पिच गरेर ‘हरियाली सहर’, सफा स्वच्छ बनाउने एजेन्डा उनले सुनाए। ‘सय दिनभित्रमा यी काम भएरै छाड्नेछन्’ उनले भने।
विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउने उनको दोस्रो एजेन्डा हो। राजधानी बनाउन उनले प्लानिङ सिटीको अवधारणा ल्याउने भएका छन्।
सहर व्यवस्थित नभएकाले प्लानिङ सिटीको अवधारणा जरुरी भइसकेको उनी बताउँछन्। यसका निम्ति कर नबढाउने, तर त्यसको दायरा फराकिलो बनाउनुपर्ने उनको बुझाइ रहेछ।
औद्योगिक क्षेत्रलाई विकास गर्ने उनको आर्थिक एजेन्डा हो। विराटनगर जुट मिल सञ्चालन गरे आर्थिक रूपमा पनि फाइदा पुग्ने र दसौं हजारले रोजगारी पाउने उनले बुझेका छन्। ‘म जुट मिल सञ्चालन गरेर देखाउँछु,’ उनले सुनाए, ‘ऐतिहासिक हिसाबले पनि यो मिलको पहिचान छुट्टै छ।’
विराटनगर नामाकरण नै विराट राजाबाट भएकाले अहिले भग्नावशेष बनेको विराट दरबार पुनर्निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने अर्को एजेन्डा उनले सुनाए।
युवालक्षित एजेन्डा बेग्लै किसिमको छ। उनी पढेलेखेका युवालाई सर्टिफिकेट राखेर ऋण दिलाई पेशा÷व्यवसायमा आकर्षित गर्न चाहन्छन्। शिक्षित युवा विदेश पलायन नहुन् भनेर उनले सर्टिफिकेट धरौटीमा राखेर ऋण दिलाउने सपना बुनेका छन्।
युवा सूचना केन्द्र निर्माण गर्ने, ज्येष्ठ नागरिक केन्द्र, अपांगतामैत्री केन्द्र स्थापना गर्ने, गरिबलाई निःशुल्क शिक्षा÷स्वास्थ्यको व्यवस्था गर्ने उनको योजना छ। सामुदायिक विद्यालयमा निजीसरह अंग्रेजी माध्यममा पढाइ सुरू गर्ने उनको शैक्षिक एजेन्डा रहेछ। आफैं सञ्चालक समितिमा रहेको आदर्श उच्च माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा सफल भएको बताउँदै उनी भन्छन्, ‘म मेयर बनेपछि जनताका छोराछोरी महंगो पैसा खर्च तिरेर बोर्डिङ जानु पर्दैन।’
स्वास्थ्य संस्था बग्रेल्ती छन्। तर, जनताले सहज स्वास्थ्य सेवा पाएका छैनन्। उनी निजी र सरकारी स्वास्थ्य संस्थाबीच साझेदारी गरेर स्वास्थ्य सेवा सहज बनाउन चाहन्छन्। विराटनगरका १९ वटा सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने उनको योजना छ। कोसी अञ्चल अस्पताललाई स्तरोन्नति गरी मेडिकल कलेज तथा क्षेत्रीय अस्पतालको रुपमा विकास गर्ने योजना उनले सुनाए।
सुकुम्बासी समस्या समाधान गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने एजेन्डा पनि आफूसँग रहेको उनी बताउँछन्।
भीमका लागि चुनावी परिणाम सुरुवातदेखि नै सुखद् रह्यो। मत गन्न थालेदेखि अन्तिमसम्म उनी कुनै वडामा पछि परेनन्। अझ मध्यतिर आएपछि ३५ सय÷चार हजार मतले अग्रता कायम गर्दै अन्तिममा अग्रता ६ हजारसम्म पुग्दा मतगणनास्थल आदर्श स्कुल वरिपरि शुभचिन्तकले शनिबार उनलाई घेरिसकेका थिए।
नेविसंघ राजनीतिमा होस् या पार्टी राजनीतिमा, भीमले अहिलेसम्म हारेका छैनन्। उम्मेदवारी दिने बेला नै उनी आत्मविश्वासका साथ भन्दै थिए, ‘म पाँचदेखि सात हजार मतले जित्छु।’
अहिले उनले भनेजस्तै नतिजा हात लागेको छ। मेयर बनेपछि उनीसँग विराटनगरको विकास र आर्थिक समृद्धि जोडिएको छ। उनी पाँच वर्षभित्रमा विराटनगरलाई सपनाको सहर बनाउन चाहन्छन्।
विजयी भइसकेपछि उनले गठबन्धनका शुभचिन्तक, मतदाता, कार्यकर्ताको योगदान सम्झेका छन्। र, उनको संकल्प छ, ‘म सबैको साझा मुद्दा, आमधारणा ग्रहण गर्दै काम गर्छु।’