विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख भीम पराजुलीले महानगरपालिकालाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यहाँ आज मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलबाट शपथ लिँदै उनले एक सय दिनमा विराटनगरवासीलाई धुलो र हिलोबाट मुक्त गराउन ठोस कार्य गरिने बताए । विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनका लागि ठोस भूमिका निर्वाह गरिने र महानगरमा मातृभाषाको पाठ्यक्रम समावेश गरिने जानकारी पनि उनले दिए।
सो अवसरमा उपप्रमुख इन्दिरा कार्कीले विराटनगरलाई शान्त र हराभरा तथा भयमुक्त महानगरका रुपमा विकसित गरिने बताउँदै अन्यायमा परेका महिलालाई न्यायका लागि अन्यत्र कतै जानु नपर्ने अवस्था ल्याइने दृढता व्यक्त गरे । कार्यक्रममा उपप्रमुख कार्की र वडाका अध्यक्षले पनि शपथ लिएका थिए।
सो अवसरमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले विराटनगरको विकासमा सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिए । सांसद पुष्कर आचार्य, प्रजिअ यज्ञराज कोइराला र महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले विकासनिर्माणका कामलाई तीव्रता दिनुपर्ने औंल्याए । रासस