कैलालीको टीकापुरमा अघिल्लो संविधानसभा निर्वाचनमा तेस्रो भएको नेकपा एमालेले यसपालि मेयर जित्यो। मतगणना क्रममा लगातार चौथो रहँदै आएको एमालेको रोचक जितले माओवादी केन्द्रलाई कतिसम्म आश्चर्यमा पारेछ भने अध्यक्ष पुष्पकमल दाहालले राजपा नेताहरूसँग गुनासो नै गर्न भ्याए।
प्रधानमन्त्री निवास बालुवाटारमा हालै बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठकमा अध्यक्ष दाहालले ‘टीकापुरमा एमालेले कसरी जित्यो’ भनेर राजपा नेताहरूसँग प्रश्न गरेको बैठकमा सहभागी स्रोतले बतायो।
टीकापुर त्यही ठाउँ हो, जहाँ २०७२ भदौ ७ गते एसएसपीसहित सात जना प्रहरीको हत्या भएको थियो। एक जना बालक पनि मारिएका थिए। उक्त घटनामा स्थानीयको धेरै सम्पत्ति क्षति भएको र थारु समुदायका केहीलाई झुठा मुद्दा लगाएर फसाइएको भन्दै मधेसवादी दलहरूले क्षतिपूर्ति र मुद्दा फिर्ताको माग गरेका थिए।
त्यही माग सम्बोधन गर्ने भन्दै दाहालले प्रधानमन्त्री भएको बेला टीकापुरमा झन्डै ११ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरे। चुनावी अभियानका क्रममा दाहाल स्वयं नै टीकापुर पुगेका थिए।
एमालेले भने सुरुदेखि नै टीकापुर घटना ‘राजनीतिक नभई आपराधिक भएको’ तर्क गर्दै आएको थियो। यस्तो तर्क दिने एमालेले त्यहाँ कुनै हालतमा चुनाव जित्न सक्दैन भन्ने कांग्रेस र माओवादीको आकलन थियो।
हुन पनि टीकापुर नगरपालिकाको मतगणनामा सुरुदेखि नै एमाले पछि परेको थियो। मतगणना सुरु भएको झन्डै चार दिन लोकतान्त्रिक फोरमको अग्रता थियो। दुई दिनजति माओवादी केन्द्रले पनि अग्रता लियो। एमाले उम्मेदवार भने चौथो थिए। यही आधारमा धेरैले लोकतान्त्रिक फोरमले नै जित्छ भन्ने लख काटे। मतगणनाको अन्तिम नतिजामा भने धेरैलाई चकित पार्दै एमालेले बाजी मार्यो।
बैठकमा सहभागी एक नेताका अनुसार दाहालले यो नतिजाप्रति असन्तुष्टि जनाउँदै टीकापुरमा झन्डै ११ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गर्दा पनि एमालेले चुनाव जितेकोमा आश्चर्य प्रकट गरेका थिए। ‘हामीले यत्रो मिहिनेत गर्दा पनि एमालेले कसरी चुनाव जित्यो?’ दाहालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक राजपा नेताले भने।
दाहालको यस्तो भनाइपछि राजपा नेताहरूले ‘पैसा बाँडेर मात्र चुनाव नजितिने’ जवाफ दिएका थिए। टीकापुर घटनामा लगाइएका झुठा मुद्दा फिर्ता नलिएकोमा स्थानीय आक्रोशित रहेको उनीहरूको भनाइ थियो।
‘टीकापुरको भोट कांग्रेस र माओवादीविरुद्धको हो, मधेसका जनता उनीहरूसँग आक्रोशित छन्,’ राजपा नेताको भनाइ उद्धृत गर्दै बैठकका एक सहभागीले भने, ‘यही अवस्था रह्यो भने दुई नम्बर प्रदेसमा पनि एमाले नै पहिलो पार्टी हुन्छ।’