बैतडी जिल्ला अदालतले चालु आर्थिक बर्ष २०७३/७४ मा ९० प्रतिशत मुद्दा फर्छ्यौट गरेको बुधबार पत्रकार भेटघाट गरी जानकारी दिएको छ ।
गत आर्थिक वर्ष २०७२/७३ बाट सरी आएको १० गरी चालु आर्थिक वर्षमा ८३ मुद्दा परेकामा ७५ मुद्दा फर्छ्यौट भएका जिल्ला न्यायाधीश ध्रुवकुमार शाहले जानकारी दिए। छिटोछरितो, सर्वसुलभ न्याय दिन अदालतले विगतका वर्षभन्दा मुद्दाको फर्छ्यौट छिटो गर्न थालेको उनले दावी गरे।
चालु आवमा सबैभन्दा बढी अंश विवादसम्बन्धी ३३ मुद्दा परेकामा २९ मुद्दा फर्छ्यौट भइसकेका छन् । यस्तै, सम्बन्ध विच्छेदका १० मुद्दामा १०, खिचोला ६ मुद्दा परेकामा ६, जबर्जस्तीकरणीका पाँच मुद्दा परेकामा चार तथा गाली–बेइज्जतीका पाँच मुद्दा परेकामा चार मुद्दा फर्छ्यौट भइसकेका छन ।
चार अंश मुद्दा, जबर्जस्तीकरणी, सरकारी छाप कीर्ते, समूहमा दर्ता गरी पाऊँ, गाली–बेइज्जती एक–एक गरी आठ मुद्दा फर्छ्यौट हुन बाँकी छन् । बाँकी रहेका मुद्दा पनि भर्खरै परेकाले अदालती प्रक्रियाअनुसार अङ्ग नपुगेकाले फर्छ्यौट हुन नसकेको न्यायाधीश शाहले बताए।
न्यायालयको पञ्चवर्षीय रणनीतिअनुसार समयमै मुद्दाको फर्छ्यौट गर्ने गरेको जानकारीसमेत उनले दिए। यसैबीच, चालु आवमा दुई लाख ६७ हजार १२७ जरिवाना असुल गरेको बैतडी जिल्ला अदालतले जनाएको छ । गत आव २०७२/७३ मा ८२ मुद्दा परेकामा ६२ मुद्दा फर्छ्यौट भएका थिए । रासस