प्रमुख प्रतीपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विष भरिएको सुई भएको बताएका छन्।
बिहीबार राजधानीमा मधेसका बुद्धिजिवीसँगको छलफल कार्यक्रममा बोल्दै ओलीले अहिले सरकारले त्यही विष भरिएको सुई अरुलाई लगाइदिन खोजेको बताए। ‘संशोधन प्रस्ताव पोइजन भरिएको सुई हो अहिले एकले अर्कालाई लगाउन खोजेका छन्,’ ओलीले भने, ‘पोइजन भरिएको सुई दिने अनि लगाउन मानेर भनेर हुन्छ। औषधी भए पो खाने विष हो भने नखाने।’
उनले संविधान संशोधन गोलमोटल भएकाले सत्तारुढ दल नै त्यसमा अलमलिरहेको बताए। ‘हामीले त भोटिङमा ल्याउनुस् सकेको गर्छौं भनेका थियौं तर उहाँहरू प्रस्ताव बोकेर भाग्नुभयो,’ ओलीले भने, ‘ अनि बाहिर गएर एमालेले मानेर भनेर गलत सन्देश फैलाउनु भयो।’
अध्यक्ष ओलीले संविधान संशोधनमा एमालेको पनि सहमति हुने गरी छलफल गरौं भन्दा सत्तारुढ दलले छलफल गर्न नमानेको आरोप लगाए। ‘संविधान संशोधन गर्न सकिन्छ, तर सबै पक्षको सहमति हुनुपर्छ भन्दा एमालेले संशोधन भएन भनेर एकोहोरो भ्रम फैलाउन थालियो,’ ओलीले भने, ‘अब चुनावपछि नयाँ छलफल गरेर संशोधनको प्रक्रिया अगाडि एमाले खुला छ। हेरौं सरकारले के गर्छ।’
उनले त्यसका लागि सरकारलाई इमानदार बाटोमा हिँड्न पनि आग्रह गरे।