मुख्यसचिवबाट राजीनामा नदिइकन एसियाली विकास बैंकको जागिर खान गएका सोमलाल सुवेदीको व्यवस्थापिका संसदमा चर्को आलोचना भएको छ।
बिहीबारको बैठकमा बोल्दै प्रतीपक्षी दलका सांसदहरूले मुख्यसचिवबाट राजीनामा समेत नदिइकन एडिबीको जागिर खान गएको भन्दै सुवेदीकाे अालाेचना गरेका छन्। उनीहरूले यस विषयमा सरकारको धारणासमेत माग गरेका छन्।
बैठकमा बोल्दै एमाले सांसद रेवतीरमण भण्डारीले मुख्यसचिवको जागिर खाएको व्यक्ति कुन नैतिकता र कानुनका आधारमा सहसचिव सरहको जागिर खान गएको हो? भनी प्रश्न गरे।
‘नेपालको संविधानको कुन धारामा र कुन कानुनमा दुई वटा मुख्यसचिवको व्यवस्था गरेको छ?’ भण्डारीले भने,‘सुवेदीलाई एडिबीमा पठाउने सरकारी निर्णय फिर्ता गराउन पर्छ होइन भने मुख्यसचिवबाट राजीनामा दिन लगाउनु पर्छ।’
सुवेदीको यो कदमले अन्तराष्ट्रिय स्तरमा नेपालको छवि कमजोर भएको भण्डारीले जिकिर गरे।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुवेदीले आफू खुसी निर्णय गर्दा समेत सत्तारुढ दलले टुलुटुलु हेरेर बसेको आरोप लगाए। ‘एडिबीमा जागिर खाने निर्णय गरेकै दिन उनले राजीनामा दिनुपथ्र्यो,’ सुवालले भने।
विपक्षी दलहरुको सरकारी धारणा माग गरेपछि सभामुख ओनसरी घर्तीले यस विषयमा जानकारी दिन सरकारलाई रुलिङ गरेकी छन्।
एक वर्ष कार्यकाल बाँकी छँदै सुवेदी मुख्यसचिव छोडेर एडिबीमा जागिर खान फिलिपिन्स जान लागेका छन्। सरकारले बिहीबारै राजेन्द्रकिशोर क्षत्रीलाई मुख्यसचिवमा बढुवा गरिसकेको छ।