पानी बाराबारको अवस्थाबाट पछिल्लो समय सुध्रिँदै गएको नेकपा एमाले र राष्ट्रिय जनता पार्टी नेपालबीचको सम्बन्ध अनौपचारिक वार्ताभन्दा अघि बढ्न सकेको छैन।
दुबै चरणका स्थानीय चुनावमा पहिलो पार्टी बनेको प्रतीपक्षी एमाले तेस्रो चरणको चुनाव आउन लाग्दा राजपाप्रति नरम बन्दै गएको छ भने सत्तारुढ दलले सधैँ एमालेलाई देखाएर संविधान संशोधन गर्न आनाकानी गरिरहेको भन्दै राजपा नेताहरू पनि एमालेसँग कुरा गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। तर एमाले र राजपाको सम्बन्ध अहिलेसम्म अनौपचारिक छलफलमै अड्किएको छ।
संविधान संशोधनका विषयमा छलफल गर्न एमाले र राजपाका युवा नेताबीच केही चरणमा अनौपचारिक छलफल भएका थिए। अघिल्लो साता दुबै दलका नेताहरुबीच राजधानीको एक रिर्सोटमा लामो अनौपचारिक छलफल भयो तर त्यो छलफलले औपचारिक छलफलका लागि वातावरण भने बनाउन सकेन।
अनौपचारिक छलफलका क्रममा दुवै पक्षले आत्मालोचना गरेर जाने सहमति भएको थियो। त्यो सहमतिलाई एमाले शीर्ष नेतृत्वले उल्लंघन गरेको राजपाका एक नेताले सेतोपाटीलाई बताए।
‘एमालेले संविधान संशोधनका पक्षमा छलफल गर्नुको साटो विपक्षमा मोर्चाबन्दी गरेका कारण औपचारिक छलफल हुन सकेन,’ ती नेताले भने।
राजपा महासचिव जितेन्द्र सोनलले मधेसलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेसम्म एमालेसँगको सहकार्य अघि नबढ्ने बताए। एमालेले संविधान संशोधनका पक्षमा आउनुको साटो मधेसविरोधी चरित्रलाई उदांगो पारेको उनको जिकिर छ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने राजपाका नेताहरुसँग अनौपचारिक छलफल चलिरहेको बताउँछन्। उनले राजपासँग पहिलेभन्दा सम्बन्ध धेरै सुध्रिएको दाबी गरे।
सम्बन्धमा थप सुधार भए दुई पार्टीबीच औपचारिक छलफलसमेत केही दिनमै हुने ढकालको आशा छ।