एकता महाधिवेशन भएको ५ महिना नबित्दै संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको छ।
पार्टी अध्यक्ष कमल थापाले बिहीबार ४२ जना केन्द्रीय सदस्य नियुक्त गरेपछि वरिष्ठ नेता पशुपतिशमशेर राणा पक्षधरले त्यसको विरोध गरेको छ।
राणाले शुक्रबार विज्ञप्ति जारी गरेर अध्यक्ष थापाले एकतर्फी रुपमा ४२ जना केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै त्यसले सिंगो पार्टी थापाको बिर्ता भएको सन्देश प्रवाह भएको बताएका छन्।
उनले साउन ४ गते पार्टीको केन्द्रीय समितिको बैठक डाकिसकेको अवस्थामा थापाले गरेको नियुक्ति तत्काल फिर्ता लिई पार्टीलाई बिग्रह र प्रत्युत्पादक आन्तरिक द्वन्द्वबाट बचाउनु पर्ने उल्लेख गरेका छन्।
अध्यक्ष थापा पक्षधर नेताले भने थापाले विधानको अधिकार अनुसार नै केन्द्रीय सदस्य मनोनित गरेको दाबी गरेका छन्।
महाधिवेशन भएको लामो समय भएकोले अध्यक्षले विधानको अधिकार अनुसार केन्द्रीय सदस्यको नियुक्त गरेको नेता दिलनाथ गिरीले बताए। ‘साउन ४ गते पार्टीको बैठक छ। त्यसलाई मध्यनजर गरेर नियुक्त गरिएको हो। यो अध्यक्षको अधिकारको कुरा हो,’ गिरीले भने।
राप्रपाका एक पदाधिकारीले केन्द्रीय सदस्य नियुक्ति गर्ने अधिकार अध्यक्षलाई भए पनि उनले त्यसलाई अबको केन्द्रीय समितिबाट अनुमोदन गराउनु पर्ने बताए। 'यो यति धेरै विवाद गरेर बाहिर छताछुल्ल पार्नुपर्ने विषय होइन', उनले भने, 'पार्टीमा अझै केही केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी नै छ।'
गत फागुनमा राप्रपाको एकता महाधिवेशन भएको थियो। असन्तुष्टि जनाउँदै नेता प्रकाशचन्द्र लोहनीले केही समयमै पार्टी परित्याग गरेर अर्को पार्टी खोलेका थिए।
एकता महाअधिवेशन भइसकेपछि पनि पार्टीभित्र राणा र थापा समूहको विवाद कायमै छ।
राप्रपाभित्र विवादले पार्टीसहित राष्ट्रिय राजनीतिमा पनि असर पारेको छ। गत वैशाख १७ गते संसदमा राप्रपाका १० जना सांसद अनुपस्थित भएपछि संविधान संशोधन विधयेक निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन।