दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा भाग लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका छन्।
सो बैठक आगामी साउन २ देखि ४ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने छ । उक्त उच्चस्तरीय राजनीतिक मञ्चमा संंयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्यका बारेमा समीक्षा गरिने दिगो विकासका कार्यसूचीमा सहभागी राष्ट्रमध्ये नेपाललगायत ४४ मुलुकले आफ्नो कार्यप्रगतिका बारेमा छलफल गर्ने कार्यक्रम छ । दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा गरिएका प्रयास र सोसम्बन्धी विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता तुलसीप्रसाद गौतमले जानकारी दिए।
सो अवसरमा उपाध्यक्ष डा श्रेष्ठले सोही कार्यक्रमको सिलसिलामा आयोजना हुने विभिन्न सत्रमा भाग लिनेछन् । राष्ट्र संघले सन् २०१५ मा घोषणा गरेको दिगो विकास लक्ष्यमा नेपाललगायत विश्वका धेरै मुलुक सहभागी छन् ।
नेपालले पनि दिगो विकासका लक्ष्य कार्यान्वयन गर्नका निम्ति प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति, योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यक्रम कार्यान्वयन तथा समन्वय समितिलगायत नौ विषयगत समिति गठन गरेको छ । नेपाली भ्रमण दलमा आयोगका सचिव विष्णुप्रसाद लम्साल तथा सहसचिवहरु आयोगका लालशंकर घिमिरे, अर्थ मन्त्रालयका लक्ष्मण अर्याल र परराष्ट्र मन्त्रालयका भरतराज पौड्याल छन् । रासस