करफर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत सदस्य उमेश ढकाल र सदस्यसचिव चुडामणी शर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिबार विशेष अदालतमा पेश गरेको भ्रष्टाचार मुद्दा आज दर्ता भएको छ।
अख्तियारले उनीहरु विरुद्ध १० अर्ब २ करोड भन्दा बढी विगो बमोजिम जरिवाना र ८ देखि १० वर्ष कैद सजाय माग गर्दै मुद्दा ल्याएको थियो।
विहिबार र शुक्रबार रुजु गर्न समय अभाव भएको भन्दै फाइल फर्काएको विषेशले आइतबार उक्त मुद्दा दर्ता गरेको हो।
तीनै जनाले कर निर्धारण गर्दा १० अरब २ करड १९ लाख १ हजार ८ सय ४२ रुपैँया अनियमितता (राजस्वचुहावट) गरि भ्रष्टाचार गरेको आरोप अख्तियारको छ। उक्त रकम विगो दाबी गर्दै ल्याइएको मुद्दा आइतबार दर्ता भएको विषेश अदालतका प्रवक्ता जगन्नाथ पौडेले जानकारी दिए।
'निजहरु उपर भ्रष्टाचार निवारण ऐन २०५९को दफा ७ (क)को कसुरमा दफा ७ बमोजिम जरिवाना र कैद दावि गरिएको छ,' उनले भने।
ती दफामा राजस्व चुहावट गर्नुलाई पनि भ्रष्टाचार गरेको ठहर्ने भन्दै विगो बमोजिमको जरिवाना र सजायको व्यवस्था गरिएको छ।
जसअनुसार शर्मा महत र ढकालले जनहि १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ नै जरिवाना तिर्नुपर्ने अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
त्यसैगरि उनीहरुलाई ८ देखि १० वर्षसम्मको कैद हुनुपर्ने पनि अख्तियारले माग गरेको छ।