संघीय समाजवादी फोरम तेस्रो चरणको निर्वाचनअघि सरकारमा नजाने भएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने चर्चा चलेको भए पनि फोरम संसदीय दलका प्रमुख सचेतक डाक्टर शिवजी यादवले तेस्रो चरणको निर्वाचन अघि पार्टी सरकारमा नजाने बताए।
‘हामी अहिले असोज २ को निर्वाचनमा जुटेका छौ,’ यादवले सेतोपाटीसँग भने,‘निर्वाचन अघि सरकारमा जाने विषयमा पार्टीमा छलफल नै भएको छैन। यस विषयमा निर्वाचनपछि मात्रै यो विषयमा छलफल गर्छौं।’
उनले पार्टीको केन्द्रीय समिति र संसदीय दलमा पनि सरकारमा जाने विषयमा कुनै छलफल नै नभएको दाबी गरे।
प्रधानमन्त्रीले सरकार गठनमा सहयोग गरेको पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नु स्वभाविक रहेको उनले बताए।
यसअघि सरकार विस्तारका लागि बनेको कार्यदलले उपप्रधानमन्त्री लिएर यादवलाई सरकारमा आउन प्रस्ताव गरेको थियो।
सुरुमा यादवले आफ्नै नेतृत्वमा पार्टी सरकारमा आउने सन्देश कार्यदललाई पठाएका थिए। तर पछिल्लो समय उनले सरकारमा सहभागी हुन चासो देखाउन छोडेका थिए।