निर्वाचन आयोगले साउन १५ देखि ३२ सम्म ७ सय ४४ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्ने भएको छ।
यसअघि जिल्ला र क्षेत्रीय निर्वाचन कार्यलयबाट साउन १ देखि १५ सम्म मतदाता नामावली संकलन गर्ने निर्णय आयोगले गरेको थियो।
संकलन कार्यका लागि आयोगले स्थानीय तहमै टोली खटाउने भएको हो।
नेपाली कांग्रेसका सांसदहरु र नेकपा एमालेले संस्थागत रुपमै आयोग पुगेर मतदाता नामावली संकलनको म्याद बढाउन आग्रह गरेका थिए। आयोगले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि नामावली संकलन सुरु गरिसकेको छ।
आयोगले जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयबाट भने अन्य जिल्लाका लागि पनि मतदाता नामावली संकलन गर्ने भएको छ।
अर्थात् काठमाडौँमा काम तथा अध्ययन गरिरहेका अछामका मतदाताले जिल्ला निर्वाचन कार्यालय काठमाडौँबाट नामावली भर्न मिल्ने प्रावधान बनाएको हो। यसअघि आयोगले गृह जिल्लामा पुगेर मात्रै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको थियो।
स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७३ फागुन ९ गतेबाट आयोगले मतदाता नामवाली संकलन रोकेको थियो।