सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूको बैठक मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ।
मंगलबारको बैठकमा सरकार सञ्चालन, मन्त्रालयको बाँडफाँड र मन्त्रिपरिषद विस्तारका विषयमा कुराकानी भएको थियो। बैठकले थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको छ। बुधबार पुनः नेताहरुको बैठक बसी छलफललाई अन्तिम रूप दिइने बैठकमा सहभागी माअवादी केन्द्रका नेता वर्षामान पुनले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, नेताहरू वर्षामान पुन, बिमलेन्द्र निधि र रमेश लेखक सहभागी थिए।