राप्रपा अध्यक्ष कमल थापाले दुई चरणको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले 'निराशाजनक परिणाम' हात पर्नुका कारण केलाएका छन्।
आज सुरू भएको पार्टी केन्द्रीय समितिको बैठकमा उनले पेश गरेको प्रतिवेदनमा हारका कारणहरू केलाएका छन्। उनले पार्टीले प्राप्त गरेको परिणाम 'निराशाजनक' भएको उल्लेख गरेका हुन्।
प्रतिवेदनमा उनले लेखेका छन्,'स्थानीय तहको निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न सकेन। पार्टी एकीकरण पश्चात कायम रहेको उत्साहजनक माहोल तथा आमजनताको अपेक्षाको तुलनामा निर्वाचन परिणाम निराशाजनक छ।'
यस्तो निराशाजनक परिणामका लागि सबैभन्दा प्रमुख कारण राप्रपालाई हराउन राष्ट्रिय तथा अन्तराष्ट्रिय गिरोह र शक्तिकेन्द्र लागेको उनको बुझाई छ।
प्रतिवेदनमा उनले लेखेका छन्, 'हिन्दूराष्ट्रविरोधी र नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानलाई कमजोर बनाएर आफ्नो स्वार्थसिद्ध गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोह र शक्ति केन्द्रहरूले संगठीत र योजनाबद्ध रूपमा राप्रपाविरूद्ध अभियान नै चलाएको देखिन्छ।'
अभियान चलाउनेमा 'केही राजनीतिक दलका नेता, केही आमसञ्चारमाध्यमका प्रतिनिधि तथा केही गैरसरकारी संस्था र नागरिक समाजका अगुवाहरू' रहेको उनले उल्लेख गरेका छन्। तर कुन दल, कुन आमसञ्चार माध्यमका प्रतिनिधि र कुन गैरसरकारी संस्था वा नागरिक समाजको को अगुवाले यस्तो भूमिका निर्वाह गरे भन्नेमा थापाको प्रतिवेदन मौन छ।
उनले औंल्याएको दोस्रो कारण पार्टी संगठन कमजोर हुनु हो।
तेस्रो कारणमा उनले आफ्नै पार्टीका नेता कार्यकर्ताको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका छन्। 'अधिकांश नेताहरू राजधानी र जिल्ला सदरमुकाममा नै अल्मलिने प्रवृत्तिले' स्थानीय निर्वाचनमा जित्न नसकेको उनको ठम्याई छ।
चौथो कारण केन्द्रमा भएको एकताको भावना स्थानीय तहसम्म पुग्न नसकेको उनले विश्लेषण गरेका छन्।
पाँचौं कारण राप्रपा विरूद्धका भ्रम बेलैमा चिर्न र निराकरण गर्न नसक्दा पार्टीले हार व्यहोरेको उनले उल्लेख गरेका छन्। साथै राप्रपाले राजसंस्था र हिन्दूराज्यको एजेन्डा त्याग्यो भन्ने हल्ला फैलाइएर पनि विपक्षीले जनतामा भ्रम सिर्जना गरेको उनले उल्लेख गरेका छन्। तर, पार्टीले यो भ्रम चिर्न नसकेको उनले स्वीकारेका छन्।
स्थानीय निर्वाचनको परिणामलाई हेरेर पार्टीको राष्ट्रिय एजेण्डामा हेरफेर आवश्कता नभएको निष्कर्ष थापाको छ।
चुनाव नजिते पनि स्थानीय स्वायत्त शासनको राप्रपाको एजेण्डा कार्यान्वयन भएकाले राप्रपाको नैतिक जित भएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।
निर्वाचनमा जित हात पार्न नसके पनि मतदातामाझ राप्रपाको अलग पहिचान कायम भएको भन्दै उनले सन्तुष्टि जनाएका छन्।
राप्रपाले दुई चरणको निर्वाचनमा पाँचवटा स्थानीय सरकारको नेतृत्वमा मात्रै जित हात पारेको छ। राप्रपाले नेपालगञ्ज उपमहानगरपालिका, रूबीभ्याली,गौरिगञ्ज, केचनाकवल र हल्दीवारी गाउँपालिकाको नेतृत्व जितेको छ। तर, अधिकांश स्थानीय तहमा राप्रपाको प्रतिनिधित्व छैन। धेरै ठाउँमा पार्टीका उम्मेद्वारको जमानत जफत भएको छ।