काठमाडौंको विकास तथा सेवा व्यवस्थापन गर्न छरिएर रहेका अधिकारलाई एकीकृत गर्न र स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन्।
बुधबार प्रधानमन्त्री देउवालाई भेट्न गएका महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र कार्यकारी अधिकृत ईश्वरराज पौडेललाई उनले यस्तो आग्रह गरेका हुन्।
स्थानीय निकाय अब स्थानीय सरकार बनिसकेकाले पहिले जिल्ला स्तरीय कार्यालयले प्रयोग गर्ने अधिकार अब महानगरपालिकाले प्रयोग गर्नुपर्ने उनले बताए।
'विकास र सेवा व्यवस्थापनमा स्थानीय तहलाई अधिकार प्राप्त भइसकेकोले माथिल्ला कुनै त्यस्ता निकाय छन् जसले संरचना र अधिकार ओगटेर बसेका छन् भने त्यस्ता निकाय खारेज गर्नु पर्छ,' प्रधानमन्त्री देउवाको भनाइ थियो ।
स्थानीय सरकार बनिसकेपछि विकास र सेवा व्यवस्थापनमा नेतृत्व गर्नुपर्नेमा उनले जोड दिएका थिए। सबैभन्दा ठूलो महानगर र देशको राजधानीसमेत भएकाले काठमाडौंले सबै स्थानीय तहको समेत नेतृत्व गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो।
शुक्रबार सामाखुशी र तारकेश्वरमा सडकको खाल्डामा बालिका पसेको अलग अलग घटना भएपछि प्रधानमन्त्रीले यी विषयमा चासो राख्दै महानगरका पदाधिकारीसँग भेट गरेका हुन्।
भेटमा प्रधानमन्त्री देउवाले यस्ता समस्या समाधानमा महानगरले तत्काल परिणाममुखि काम गर्नुपर्ने बताए।
यसअघि देउवाले सरोकारवाला मन्त्रालयका सचिवलाई बोलाएर १५ दिन भित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए।
महानगरका मेयर शाक्यले विकास निर्माण, उपयोग र व्यवस्थापनमा विगतमा भएका कमजोरी सच्याउनैमा समय खर्च भइरहेको गुनासो पोखे। नागरिकका चाहना असीमित भए पनि सिमित श्रोतसाधनबाट परिणाममुखि काम गर्न नसकेको प्रधानमन्त्रीलाई जानकारी गराए।
प्रमुख शाक्यको भनाइ सुनेपछि प्रधानमन्त्रीले राजधानी सहरको व्यवस्थापनकालागि अधिकार र श्रोत महानगरलाई उपलब्ध गराउने बताए।
भेटका क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विगतमा खण्डीकृत रुपमा निर्माण गरिएका भौतिक संरचनाको त्रुटीबाट अहिले समस्या परिरहेको बताइन्।