नेपाल आयल निगमले सरकार र संसदीय समितिकै निर्देशनमा जग्गा खरिद प्रक्रिया अघि बढाएको स्पष्ट पारेको छ।
निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पेट्रोलियम पदार्थ भण्डारणका लागि उचित व्यवस्थापन गर्न दिइएको सरकार र समितिको निर्देशन अनुसार नै जग्गा खरिद प्रक्रिया अघि बढाइएको प्रष्टिकरण दिएका हुन्।
बुधबार व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा बोल्दै उनले पेट्रोलियम पदार्थ अभाव हुन नदिन कम्तिमा ९० दिन धान्ने गरी भण्डारण गर्न सरकारले दिएको निर्देशन अनुसार भण्डारण केन्द्र स्थापना गर्न जग्गा खरिद गर्ने निर्णय लिनु परेको पनि स्पष्ट पारे।
सरकारले भारतले नाकाबन्दी लगाएका बेला ९० दिन धान्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्न निगमलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार काम गर्न पनि जग्गा खरिद गर्ने निर्णय लिनु परेको निगमको तर्क छ ।
निगमले हाल झापा, सर्लाही, चितवन र भैरहवामा पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद गरिसकेको छ । कार्यकारी निर्देशक खड्काले ७ वटै प्रदेशमा जग्गा खरिद गरी पेट्रोलियम पदार्थ भण्डारण गर्ने संस्थागत निर्णय लिइएको पनि बताए । संसदीय समितिहरुले निगमले जग्गा खरिद प्रक्रिया अघि बढाउनुको कारणको खोजी गर्दै आएको छ ।